भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु

[sharethis-inline-buttons]

भक्तपुर,चैत २७ गते ।

भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरू हुँदैछ। नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ।

जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ। जात्रामा रौनकमा झुम्नेसँगै सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ।
काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्रांगणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ।

रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ। रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ। जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने गर्दछन्। जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ।

रथमा अनियन्त्रित तरिकाले अत्यधिक मानिस चढ्ने र त्यसले गर्दा रथबाट खसेर घाइते हुनुका साथै रथले किचेर ज्यानसमेत जाने गरेकाले त्यसलाई नियन्त्रण गर्न रथमा भैरव नाइके, गुथी र आवश्यक पदाधिकारी मात्र चढ्ने व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताए।

जात्रामा हुलदंगा गर्नेको पहिचानका लागि चोक–चोकमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिँदै उनले उक्त क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि प्रमाणका आधारमा नियन्त्रणमा लिई कारबाही गरिने बताए। जात्रामा हुलदंगा गरी सुरक्षा व्यवस्थामा खलल पुर्याउनेलाई पक्राउ गरी कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।