आज्ञा सम्वाददाता
सिरहा
पार्टीमा व्यक्तिवादी हावी भएको, आफूमाथि अन्तर्घात गरेको, राम्रो कामको मुल्याकंन नगरेको र उल्टै अपमानित गर्ने जस्ता प्रवृत्ति रहेको आरोप लगाउँदै सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सिता कुमारी यादवले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेकी छन् ।
स्थानीय तहको निर्वाचन नजिकिएसंगै उपाध्यक्ष यादवले जसपा परित्याग गरेकी हुन् । औरही गाँउपालिका ३ घर भएकी उनले विज्ञप्ती जारी गरेर पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।
आफुले केन्द्रीय अध्यक्ष समक्ष निवेदन दिएपनि सुनवाई नभएको, जिल्ला अध्यक्षलाई दिएको निर्देशन पालना नभएको र पार्टी हित विपरित काम गर्नेलाई कारबाही नगरेकोले पार्टी परीत्याग गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतका अनुसार उपाध्यक्ष यादव नेपाली कांग्रेसमा प्रवेश गर्न लागेकी हुन् ।उनलाई प्रवेश गराउन औरही गाँउपालिका ३ मै नेपाली कांग्रेसले चैत्र २५ मा पार्टी प्रवेश कार्यक्रम राखेको छ ।