मिथिला माध्यमिकी परिक्रमा आज भारतको कल्याणेश्वरका लागि प्रस्थान

[sharethis-inline-buttons]

आज्ञा सम्बाददाता
धनुषा

मिथिलाञ्चलका बहुचर्चित सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमाका तीर्थयात्री आज भारतको कलाणेश्वरका लागि प्रस्थान गरेका छन् ।मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने परिक्रमा बिहीबारदेखि विधिवत् रुपमा सुरु भएको हो । मिथिला हाम्रो सभ्यता हो, गर्वका साथ भन्नुपर्दछ कि सनातन संस्कारको महान् अनि पावन उदाहरणीय घटनामध्ये रामायण हाम्रो देशमा पनि घटित भएको हो ।

रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासँग लगनगाँठो कस्दाको इतिहास अझै पनि पवित्र मिथिलाधामका गाउँ, चोक अनि चौतारीमा भनिन्छ, कथिन्छ, गाइन्छ अनि आत्मसात गरिन्छ ।यो परिक्रमाले रामायणका धेरैजसो पक्ष अनि तीसँग सम्बन्ध राख्ने स्थान र अवयव छुने गर्दछ । हुन त मिथिला नगरमा वर्षमा तीन वटा परिक्रमा हुने गर्दछन् र कात्तिक, फागुन र वैशाखका महिनामा ती परिक्रमा हुने गर्दछन् ।

यी तीन परिक्रमामध्ये फागुनमा हुने परिक्रमाको महत्व असाध्यै छ । यस परिक्रममा १३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहने गरेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत्रुपमा बिहीबारदेखि सुरु भएको हो ।

फागुन कृष्णपक्षको औँसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा बिहीबारदेखि सुरु भएको हो । बिहीबार राति धनुषाको हनुमानगढमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालु आज बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गरेका छन् । फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमानगढ पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत्रुपमा सुरुआत हुने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।

महाशिवरात्रिलगत्तै सुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालीको फागुन महिना उल्लास एवं भक्तीमय हुने भएको छ । धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोला जनकपुरबाट सुरु भई आज सीमावर्ती भारतीय गाउँ कल्याणेश्वर महादेव स्थान पुग्नेछ । परिक्रमामा सहभागी क्रमशः फूलहर (गीर्जास्थान) हँुदै महोतरीको मटिहानी, जलेश्वर, मडै धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागुन पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिकरुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजाराँै सहभागिता रहने गरेको छ ।

यस धार्मिक यात्रालाई व्यावसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जग्गनाथ दास वैष्णवले बताए ।

मिथिला महात्म्यअनुसार १८औ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाकारुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्नुपर्ने परम्परा छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, वैजनाथधामका साधु उल्लेख्यरुपमा सहभागिता हुने गर्दछ ।परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्षप्राप्ति हुने धार्मिक मान्यता रहेको कुरा पण्डित इन्द्रकान्त झाले बताए ।

यस्तो छ परिक्रमा पथ
पहिलो दिनः फागुन औँसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमाननगर (कुवा) हो । जनकपुरधामबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्ति भएको १६० वर्षअघि स्थापित मन्दिर छ ।
दोस्रो दिनः दोस्रो दिनको मेला लाग्ने कल्याणेश्वर भारत उत्तर विहारको बासोपट्टी तथा उमाकुण्डको सानो बस्ती नजिकै छ । भव्य कुण्ड तथा विश्रामालयसमेत रहेको कल्याणेश्वर (कलना) निकै आकर्षक एवं मनमोहक छ । भविष्यज्ञाताका रुपमा नाम कमाएर प्रसिद्ध सिद्धबाबा ११० वर्ष बसेको ठाउँ पनि यही हो ।

तेस्रो दिन: तेस्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारतमै पर्छ । स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ । गौरीशङ्कर, जानकी, गिरिजा भगवती र गणेशका मूर्ति एवं कप्टहारिणी र शरसमीर पोखरीह भएको यो ठाउँबाट जमुनी नदी बगेको छ ।
चौथो दिन : यस दिन परिक्रमाका यात्री नेपालको मटिहानी आइपुग्छन् । महोत्तरी जिल्लामा पर्ने मटिहानी पूरातात्विक महत्वका १२ वटा मन्दिर तथा आठ वटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा मठ छन् ।

पाँचौँ दिन : मिथिला परिक्रमाका यात्री यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन् । जलेश्वरनाथको मन्दिरको शिवलिङ्ग सधैँभरि जलमै डुबेको हुन्छ ।
छैटौँ दिन : यस दिन यात्री जलेश्वरबाट मडई आइपुग्छन् । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा दुई वटा आकर्षक पोखरी छन् ।
सातौँ दिन : सातौँ दिनको विश्रामस्थल धु्रव कुण्ड हो । यहाँ धु्रवजीको मन्दिर छ ।

आठौँ दिन : यात्रीको आठौँ दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ ।
नवौँ दिन : यस दिनको विश्रामस्थल पर्वता हो । यहाँ हनुमानजीको विशाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन् ।

दसौँ दिन : यस दिन यात्री धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगङ्गा नदी एवं उत्तरपट्टी करिब ५०० बिघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ । यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ । रासस