आज्ञा खबर
काठमाडौं
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमणका क्रममा स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग गरी छ वटा अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भ्रमणको खेलतालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार नेपालले जुन १ मा स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ।
त्यसपछि जुन ३ मा इङ्ल्यान्डको ऐतिहासिक क्रिकेट मैदान लर्ड्समा बङ्गलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ। नेपालले जुन ६ मा आयरल्यान्डसँग एकदिवसीय खेल खेल्नेछ भने जुन ९, ११ र १२ मा सोही टोलीसँग तीनवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने कार्यक्रम तय भएको छ।
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को सहकार्यमा हुन लागेको यो भ्रमणलाई नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र विकासका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। नेपाल र एमसीसीबीच पछिल्लो समय विकसित हुँदै गएको सहकार्यको निरन्तरताका रूपमा समेत यसलाई हेरिएको छ।
एमसीसी फाउन्डेसनले सन् २०१९ देखि नेपालमा क्रिकेटमार्फत सामाजिक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्रिकेटमा सहभागिता वृद्धि र युवा खेलाडीको नेतृत्व क्षमता विकासलाई प्राथमिकता दिँदै नेपाल क्रिकेट संघसँगको सहकार्यमा कोशी र मधेश प्रदेशमा कार्यक्रम सञ्चालन भइरहेका छन्। एमसीसीका अनुसार गत वर्ष मात्रै यी परियोजनामा ४५ हजारभन्दा बढीको सहभागिता रहेको थियो।
यसैगरी, एमसीसीले नेपाल प्रिमियर लिग (एनपीएल) सँगको सहकार्यमा गत वर्षदेखि ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ समेत प्रदान गर्न थालेको छ।
पत्रकार सम्मेलनमा एमसीसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले नेपाल र क्यानबीचको सम्बन्ध पछिल्लो समय थप सुदृढ हुँदै गएको बताए। नेपालीहरूमा क्रिकेटप्रतिको असाधारण आकर्षण आफूहरूले प्रत्यक्ष अनुभव गरेको उल्लेख गर्दै उनले खेलकुदले मानिसहरूलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
क्यानका सचिव पारस खड्काले लर्ड्स मैदानमा पुनः खेल्ने अवसर प्राप्त हुनु नेपाली क्रिकेटका लागि गर्व र सम्मानको विषय भएको बताए। एमसीसीसँगको निरन्तर साझेदारीले नेपालको क्रिकेट विकासमा महत्त्वपूर्ण सहयोग पुगेको उनको भनाइ थियो। उनले बङ्गलादेश क्रिकेट बोर्ड, क्रिकेट आयरल्यान्ड, क्रिकेट स्कटल्यान्ड तथा इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) लाई सहयोगका लागि धन्यवादसमेत दिए।
त्यस्तै, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बङ्गलादेशजस्तो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग लर्ड्समा खेल्ने अवसर पाउनु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनले भ्रमण सम्भव बनाउन सहयोग गर्ने एमसीसी, ईसीबी, बङ्गलादेश क्रिकेट बोर्ड, क्रिकेट स्कटल्यान्ड र क्रिकेट आयरल्यान्डप्रति आभार व्यक्त गरे।
