आज्ञा खबर
जनकपुरधाम जनकपुरधाममा आगामी मंसिर २३ गतेदेखि सुरु हुने सप्ताहव्यापी श्रीराम जानकी विवाहपञ्चमी महामहोत्सवलाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन तयारी तीव्र पारिएको छ। महोत्सवको व्यवस्थापनलाई प्रभावकारी बनाउन जानकी मन्दिरले विभिन्न विषयगत समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ।
महोत्सवका क्रममा शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रङ्गभूमि मैदान तथा प्रवेशद्वारको व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक नियन्त्रण, खानेपानी र विद्युत् व्यवस्थापनलगायतका कामका लागि छुट्टाछुट्टै समिति गठन गरिएको हो।
महोत्सवको तयारीबारे बिहीबार जानकी मन्दिर परिसरमा आयोजित सर्वपक्षीय बैठकले व्यवस्थापनका विभिन्न पक्षलाई समेटेर समिति गठन गर्ने र जिम्मेवारी तोक्ने निर्णय गरेको हो। गत वर्षको तुलनामा यस वर्षको महोत्सवलाई थप व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले बैठक आयोजना गरिएको मन्दिरले जनाएको छ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइ तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको संयोजनमा सम्पन्न बैठकमा महोत्सव सफल बनाउन आवश्यक तयारीलाई तीव्रता दिने विषयमा छलफल भएको थियो।
बैठकमा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले विवाहपञ्चमी महोत्सवको सफल व्यवस्थापनका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
विवाहपञ्चमी महोत्सवमा सहभागी हुन नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहितका धार्मिक क्षेत्रबाट हजारौँ साधुसन्त र श्रद्धालु जनकपुरधाम आउने भएकाले उनीहरूको स्वागत, आवास, सुरक्षा र आवागमनलाई सहज बनाउने विषयलाई विशेष प्राथमिकता दिइएको छ।
बैठकमा धार्मिक सङ्घसंस्था, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
मिथिला र अवधको धार्मिक तथा सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा रहेको विवाहपञ्चमी महोत्सवमा प्रत्येक वर्ष ठूलो सङ्ख्यामा स्वदेशी तथा भारतीय श्रद्धालु सहभागी हुँदै आएका छन्।
