काभ्रेको रोशीमा पहिरोले बीपी राजमार्ग ठप्प, यात्रुलाई सतर्क रहन आग्रह

आज्ञा खबर

काभ्रेपलाञ्चोक

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका क्षेत्रमा पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो।

रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसी क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षा नरोकिएकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले वर्षा जारी रहेकाले सडक खुलाउन समस्या भइरहेको जानकारी दिएका छन्।

राजमार्ग अवरुद्ध भएपछि यस मार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालक प्रभावित भएका छन्। प्रहरीले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भावित जोखिमबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ।

लगातारको वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग हुँदै यात्रा गर्नेहरूले सावधानी अपनाउनुपर्ने देखिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...