बर्दिबास जनता बहुमुखी क्याम्पसको छैठौं क्याम्पस सभा हुँदै, नयाँ नेतृत्व चयन प्रमुख एजेन्डा

माधव पौडेल
बर्दिबास, महोत्तरी

बर्दिबास जनता बहुमुखी क्याम्पसको छैठौं क्याम्पस सभा आगामी कार्तिक १५ गते हुने भएको छ। सभाले आगामी तीन वर्षका लागि नयाँ क्याम्पस व्यवस्थापन समिति चयन गर्ने भएपछि क्याम्पसको भावी नेतृत्व र शैक्षिक विकासका विषयमा चासो बढेको छ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमालको अध्यक्षता तथा मधेश प्रदेशकी पूर्वमन्त्री माननीय शारदादेवी थापाको प्रमुख आतिथ्यमा क्याम्पस सभाको उद्घाटन हुने कार्यक्रम तय भएको क्याम्पस प्रमुख चेतबहादुर खड्काले जानकारी दिए।

क्याम्पसको आगामी नेतृत्व चयनसँगै शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास, संस्थागत सुदृढीकरण तथा दीर्घकालीन शैक्षिक योजनाका विषयमा समेत सभामा छलफल हुने अपेक्षा गरिएको छ।

सामुदायिक शिक्षाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस क्याम्पसका लागि छैटौँ क्याम्पस सभा विशेष महत्वको हुने देखिएको छ।

हाल यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा गरी जम्मा ७६१ जना विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीको संख्या र शैक्षिक कार्यक्रमको विस्तारसँगै क्याम्पसमा आवश्यक भौतिक पूर्वाधार निर्माण तथा उपलब्ध शैक्षिक सुविधाको स्तरोन्नति गर्नुपर्ने आवश्यकता देखिएको छ। पर्याप्त कक्षाकोठा, शैक्षिक सामग्री, पुस्तकालय, प्रयोगशाला तथा अन्य आवश्यक पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्नुपर्ने चुनौती क्याम्पससामु रहेको छ।

२८७ जना प्राज्ञ सदस्य रहेको क्याम्पसको छैटौँ सभाले संस्थाको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। सभामा क्याम्पसको शैक्षिक, प्रशासनिक तथा आर्थिक अवस्थाको समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने सुधार र विकासका योजनाबारे समेत छलफल हुने जनाइएको छ।

यसैगरी, त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर मापन तथा प्रमाणीकरण गर्ने विशेष प्रणाली क्यूएए (QAA – Quality Assurance and Accreditation) अन्तर्गत गुणस्तरीय शैक्षिक संस्थाको मान्यता प्राप्त गर्ने प्रक्रियालाई अगाडि बढाउन आवश्यक विभिन्न कार्यविधिहरू पनि सभाबाट पारित गर्ने कार्यसूची रहेको आयोजकले जनाएको छ।

क्यूएए मान्यता प्राप्त गर्ने प्रक्रिया सामुदायिक क्याम्पसका लागि शैक्षिक गुणस्तर सुधार, संस्थागत पारदर्शिता, प्रभावकारी व्यवस्थापन र शैक्षिक विश्वसनीयता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ। त्यसैले यस प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढाउन आवश्यक नीतिगत तथा संस्थागत तयारीलाई क्याम्पस सभाले प्राथमिकता दिने अपेक्षा गरिएको छ।

विक्रम संवत् २०६४ सालमा स्थापना भएको बर्दिबास जनता बहुमुखी क्याम्पस यस क्षेत्रको एक मात्र सामुदायिक क्याम्पस हो। स्थापना कालदेखि नै स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको यस क्याम्पसले ग्रामीण तथा मध्यम आय भएका परिवारका विद्यार्थीका लागि उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

बर्दिबास तथा आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएको क्याम्पसले स्थापनाको झण्डै दुई दशकको यात्रामा शैक्षिक गतिविधि विस्तार गर्दै आएको छ। तर समयअनुसार शैक्षिक गुणस्तर, प्रविधिमैत्री शिक्षण पद्धति र भौतिक संरचनाको विकास गर्नुपर्ने आवश्यकता पनि उत्तिकै बढ्दै गएको छ।

यस्तो अवस्थामा हुने छैटौँ क्याम्पस सभालाई केवल नयाँ व्यवस्थापन समिति चयन गर्ने औपचारिक कार्यक्रमका रूपमा मात्र नभई क्याम्पसको आगामी तीन वर्षको शैक्षिक तथा संस्थागत भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

नयाँ व्यवस्थापन समितिले क्याम्पसको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीमैत्री वातावरण निर्माण, क्यूएए मान्यताका लागि आवश्यक तयारी तथा आर्थिक स्रोत व्यवस्थापनजस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।

स्थानीय समुदायको सहयोग र सहभागितामा स्थापना भएको सामुदायिक क्याम्पसको दिगो विकासका लागि नयाँ नेतृत्वले कस्तो योजना र कार्यदिशा अघि सार्छ भन्ने विषयमा समेत यस क्षेत्रका शैक्षिक सरोकारवालाको चासो रहने देखिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...