सिरहामा प्रहरीको हवाई फायर,दुई भारतीय नागरिक खैरो हेरोइन सहित पक्राउ

आज्ञा खबर
सिरहा
सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ३ सय १२ ग्राम खैरो हेरोइनसमेत बरामद गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार सिरहा नगरपालिका–१३ स्थित मल्हनियाबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारतका ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धमेन्द्र दास रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको एसएसपी बोहराले जानकारी दिए।
प्रहरीका अनुसार दुवै जना भारतबाट मोटरसाइकलमा खैरो हेरोइन लिएर नेपालतर्फ आउँदै गरेका बेला पक्राउ परेका हुन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा हवाई फायर गरेको बताइएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...