आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १२ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि वडा, नगरपालिका, समुदाय, बालबालिका, अभिभावक तथा विभिन्न सरोकारवाला निकायको निरन्तर प्रयासपछि वडा नं. १२ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो।
वडा नं. १२ स्थित चल्की चोकमा सोमवार आयोजित घोषणा कार्यक्रममा वडा अध्यक्ष रामकिशोर महतोको अध्यक्षतामा सो वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको बताईएको छ।
घोषणा कार्यक्रममा बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्री प्रमुख अतिथि तथा नगर उपप्रमुख तारा देवी विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले बालविवाह अन्त्यका लागि स्थानीय तहबाट निरन्तर पहल, समन्वय र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए उनले बर्दिबास नगरपालिकालाई समेत आगामी दिनमा बालविवाहमुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वडा तहमा भएका प्रयासलाई नगरस्तरमा विस्तार गर्दै बालविवाहमुक्त वातावरण निर्माण गर्न नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो।
त्यस्तै, नगर उपप्रमुख तारा देवी महतोले बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, आत्मनिर्भरता तथा भविष्यमा प्रत्यक्ष असर पार्ने भएकाले यसको अन्त्यका लागि परिवारदेखि समुदाय र स्थानीय सरकारसम्म सबैको साझा भूमिका आवश्यक रहेको बताईन। उनले विशेषगरी किशोरीहरूको शिक्षा, सहभागिता र निर्णय क्षमता विकासमा जोड दिनुपर्ने धारणा व्यक्त गरीन।
नेपालमा बालविवाह कानुनी रूपमा निषेधित छ। प्रचलित कानुन अनुसार विवाहका लागि महिला र पुरुष दुवैको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ।
बालविवाहमुक्त वडा घोषणाको अभियानमा सेभ द,चिल्ड्रेन क्षेत्रिय कार्यालय बर्दिवासको सहयोग तथा सामुदायिक बिकास तथा पैरवी मञ्च नेपाल बर्दिवासको सहजीकरण र समन्वयात्मक भूमिका रहेको जनाइएको छ। बालविवाहमुक्त अभियानअन्तर्गत साझेदार संस्थाले समुदाय परिचालन, सचेतना अभिवृद्धि, सरोकारवालाबीच समन्वय तथा बालविवाह अन्त्यका लागि स्थानीय तहसँग सहकार्य गर्दै आएको बताइएको छ।
वडा नं. १२ लाई बालविवाहमुक्त घोषणा गर्नु समुदायको सामूहिक प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि भएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा “बालविवाह अन्त्य, समृद्ध समाजको गन्तव्य” भन्ने सन्देशलाई थप बलियो बनाउँदै बालविवाह अन्त्यका लागि निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
बर्दिबास नगरपालिकाको वडा नं. १२ बालविवाहमुक्त घोषणा भएसँगै अब बर्दिबास नगरपालिकालाई नै बालविवाहमुक्त नगरपालिका बनाउने अभियानले थप गति लिने अपेक्षा गरिएको छ। स्थानीय सरकार, नागरिक समाज, विद्यालय, बाल क्लब, अभिभावक, युवा तथा समुदायको निरन्तर सहकार्यबाट बर्दिवास नगरपालिकालाई बालविवाहमुक्त समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गरिएको छ।
