सुभद्रा भुजेल
आज्ञा खबर बर्दिवास
रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले महोत्तरीको बर्दिवास स्थित गौतम होटल परिवारले १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
गौतम होटलका सञ्चालक हिरालाल गौतमले होटलको तर्फबाट १ लाख रुपैयाँ तथा होटलमा कार्यरत कर्मचारी परिवारको तर्फबाट ५१ हजार रुपैयाँ गरी कुल १ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषको बैक खातामा बिहिवार जम्मा गरेर सहयोग गरेका हुन्।
गत बुधवार बिहान चीनको तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुर्याएपछि त्रिशूली नदी हुँदै बाढी नुवाकोट, धादिङ र चितवनतर्फ समेत पुगेको हो। सो बाढीबाट कतिपय नागरिक तथा पर्यटक अझै सम्पर्कविहीन रहेको घटनाप्रति दुःख व्यक्त गर्दै होटल परिवारले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।
विपद्को यस कठिन घडीमा सम्पर्कविहीन नागरिक तथा पर्यटकको शीघ्र खोज तथा उद्धारसँगै प्रभावित परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउनुपर्नेमा होटल परिवारले जोड दिएको छ।
गौतम होटल परिवारले आफ्नो सहयोगलाई विपद्मा परेका नागरिकप्रति मानवीय ऐक्यबद्धता जनाउने सानो प्रयासका रूपमा लिएको जनाएको छ। आफ्नो सामर्थ्यअनुसार गरिएको सानो सहयोगले पनि पीडित परिवारको दुःखमा केही राहत पुर्याउनुका साथै निराश मनमा आशा जगाउन सक्ने विश्वास होटल परिवारको छ।
‘दुःखमा कोही एक्लो नहोस्’ भन्ने भावनाका साथ गरिएको यो सहयोगले विपद्को समयमा अन्य व्यक्ति, व्यवसायी तथा संघसंस्थालाई समेत मानवीय सहयोगका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।
गौतम होटल परिवारले विपद्मा परेका परिवारलाई साथ दिन सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न आह्वान गरेको छ। साथै होटल परिवारले ‘दुःख बाँडौँ, हातेमालो गरौँ र आशा जगाऔँ’ भन्ने सन्देश दिँदै विपद्को समयमा मानवता व्यवहार र सहयोगबाटै देखिने जनाएको छ।
