दाइजोका कारण अन्यायमा परेकालाई सम्पर्क गर्न उपसभामुख ठाकुरको आग्रह

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजो प्रथाका कारण अन्यायमा परेका व्यक्तिलाई आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छन्।

धनुषाको ढल्केबरमा नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफू निरन्तर आवाज उठाउँदै आएको बताइन्। दाइजोका कारण कुनै महिला वा परिवार अन्यायमा परेको भए आवश्यक सहयोगका लागि आफूसँग सम्पर्क गर्न उनले आग्रह गरिन्।

उनले दाइजो लिएर वा दिएर विवाह गर्ने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनले दण्डनीय मानेकाले यस्ता गतिविधि रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताइन्। दाइजो प्रथाको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतनासमेत आवश्यक रहेको उनको भनाइ थियो।

“छोरीलाई दाइजो होइन, शिक्षा दिऔँ र छोराको विवाहमा दाइजो नलिऔँ,” उपसभामुख ठाकुरले भनिन्। उनले दाइजो प्रथा समाजका लागि अभिशाप भएकाले यसको अन्त्य गर्न सामूहिक अभियान आवश्यक रहेको बताइन्।

उपसभामुख ठाकुरले नाई समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक अवस्था सुधारका लागि पनि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन्। समुदायको विकास र राज्यका विभिन्न निकायमा प्रतिनिधित्व बढाउन आपसी सहयोग र सहकार्य आवश्यक रहेको उनले बताइन्।

कार्यक्रममा सिरहा नाई समाजका श्यामकुमार ठाकुरले हजाम समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक उत्थानसँगै राज्यका विभिन्न निकायमा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै उपसभामुख ठाकुरसमक्ष मागपत्र बुझाएका थिए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...