सुभद्रा भुजेल
बर्दिबास
महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, सांस्कृतिक विविधता र पुरातात्विक सम्पदाले सम्पन्न क्षेत्र हो। चुरेको हरियालीदेखि प्राचीन धार्मिक स्थल हुँदै करिब १० हजार वर्ष पुरानो मानिने रातु सभ्यताको हतियार कारखानासम्मका सम्पदाले बर्दिबासलाई मधेश प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बलियो आधार प्रदान गरेका छन्।
बर्दिबासलाई केवल पूर्व–पश्चिम राजमार्गको व्यापारिक केन्द्रका रूपमा मात्र नभई प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक पर्यटनको संगमस्थलका रूपमा विकास गर्न सकिने सम्भावना बढ्दै गएको छ।
रातु सभ्यताको प्राचीन हतियार कारखाना
बर्दिबासको पर्यटन सम्भावनामा सबैभन्दा महत्वपूर्ण पक्षमध्ये रातु नदी आसपास भेटिएको प्रागैतिहासिक सभ्यताको अवशेष पनि हो। पुरातात्विक अध्ययनका क्रममा रातु क्षेत्रसँग जोडिएको करिब १० हजार वर्ष पुरानो मानिएको ढुंगे हतियार निर्माणस्थल तथा उपकरणका अवशेषले यस क्षेत्रको ऐतिहासिक महत्वलाई उजागर गरेको छ।
प्रागैतिहासिक मानवले ढुंगाबाट विभिन्न औजार तथा हतियार निर्माण गर्ने गरेको प्रमाणका रूपमा लिइएका यस्ता अवशेषले बर्दिबासको इतिहासलाई हजारौँ वर्ष पछाडिसम्म जोड्छन्। यसको वैज्ञानिक अध्ययन, संरक्षण र प्रचारप्रसार गर्न सकिए बर्दिबासमा पुरातात्विक तथा अध्ययन पर्यटनको नयाँ सम्भावना खुल्न सक्छ।
रातु सभ्यताको संरक्षणका लागि व्यवस्थित अनुसन्धान, पुरातात्विक क्षेत्रको पहिचान, सूचना केन्द्र तथा संग्रहालय निर्माण र पर्यटकका लागि व्याख्या केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता देखिन्छ। यसले बर्दिबासको पर्यटनलाई केवल मनोरञ्जनमा सीमित नराखी इतिहास र सभ्यताको अध्ययनसँग जोड्न सक्नेछ।
चुरे क्षेत्र र प्राकृतिक पर्यटन
बर्दिबासको उत्तरतर्फ फैलिएको चुरे क्षेत्र प्राकृतिक पर्यटनका दृष्टिले पनि आकर्षक छ। डाँडाकाँडा, खयर ,साल र बिभिन्न प्रजातीका जंगल, हरियाली र मनोरम दृश्यले यहाँ आउने पर्यटकलाई फरक अनुभव दिन सक्छ।
राईमण्डल क्षेत्रलाई विशेष रूपमा प्रकृति तथा वन्यजन्तु पर्यटनका लागि विकास गर्न सकिने सम्भावना छ। यहाँ लोपोन्मुख गिद्ध तथा विभिन्न प्रजातिका चरा पाइने भएकाले बर्ड वाचिङ, इको–टुरिज्म र जैविक विविधता अध्ययनका लागि आकर्षक गन्तव्य बन्न सक्छ।
राईमण्डलका अग्ला डाँडामा जिपलाइनलगायत साहसिक पर्यटनका पूर्वाधार विकास गर्न सके युवा तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय व्यवसायीहरूको धारणा छ।
धार्मिक पर्यटनको सम्भावना
बर्दिबास धार्मिक पर्यटनका हिसाबले पनि महत्वपूर्ण क्षेत्र हो। टुटेश्वरनाथ महादेव मन्दिर, पञ्चधुरा माइस्थानलगायतका धार्मिक स्थलले यहाँको धार्मिक पहिचानलाई बलियो बनाएका छन्।
विशेषगरी टुटेश्वरनाथ मन्दिरमा रहेको शिवलिङ्गप्रति श्रद्धालुको गहिरो आस्था रहेको छ। धार्मिक स्थलहरूको संरक्षणसँगै सडक, खानेपानी, शौचालय, विश्रामस्थल, पार्किङ र सूचना केन्द्रजस्ता आधारभूत पूर्वाधारहरुको विकास गर्न सके धार्मिक पर्यटकको आगमन बढाउन सकिने देखिन्छ।
कृषि र सांस्कृतिक पर्यटन
बर्दिबासको पर्यटन विकासमा कृषि र स्थानीय संस्कृतिलाई समेत जोड्न सकिन्छ। स्थानीय उत्पादन, कृषि फार्म, पशुपालन, ग्रामीण जीवनशैली, स्थानीय परिकार तथा आदिवासी जनजातिको संस्कृति पर्यटकका लागि नयाँ अनुभव बन्न सक्छ।
आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सवजस्ता कार्यक्रमले स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई बाहिर ल्याउन सहयोग पुर्याएका छन्। यस्ता कार्यक्रमलाई नियमित र व्यवस्थित बनाउन सके कृषि तथा सांस्कृतिक पर्यटनको विकासमा थप टेवा पुग्नेछ।
होटल व्यवसायमा बढ्दो लगानी
बर्दिबासमा पछिल्लो समय होटल तथा रेस्टुरेन्ट व्यवसाय विस्तार हुँदै गएको छ। यहाँ ७० भन्दा बढी होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको व्यवसायीहरूको भनाइ छ। राजमार्गमा अवस्थित भएकाले यात्रुका लागि बर्दिबास महत्वपूर्ण विश्राम केन्द्र बनेको छ।
तर पर्यटकलाई एक रातभन्दा बढी रोक्न सक्ने पर्यटन प्याकेज र आकर्षणको कमी अझै चुनौतीका रूपमा रहेको होटल व्यवसायीहरू बताउँछन्। होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीका अनुसार राईमण्डललगायतका पर्यटकीय क्षेत्रमा पर्यटक लैजाने व्यवस्थित कार्यक्रम बनाउन सके स्थानीय होटल व्यवसायलाई समेत ठूलो फाइदा पुग्नेछ।
पूर्वाधार विकासमा जोड
मधेश प्रदेश सरकार र बर्दिबास नगरपालिकाले पछिल्लो समय पर्यटन पूर्वाधार विकासमा चासो बढाएका छन्। बर्दिबास–१४ मा रामजानकी फनपार्क निर्माणको घोषणा पनि गरिएको छ।
फनपार्क, पार्क, धार्मिक तथा प्राकृतिक स्थलको विकाससँगै रातु सभ्यताको पुरातात्विक सम्पदालाई संरक्षण गरी पर्यटन मार्गसँग जोड्न सके बर्दिबासमा बहुआयामिक पर्यटनको आधार तयार हुन सक्छ।
चुनौती पनि उत्तिकै
पर्यटनको सम्भावना भए पनि पर्याप्त पूर्वाधार, व्यवस्थित प्रचारप्रसार, पर्यटकीय स्थलसम्म सहज पहुँच र एकीकृत पर्यटन प्याकेजको अभाव बर्दिबासका प्रमुख चुनौती हुन्।
विशेषगरी रातु सभ्यताको पुरातात्विक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन वैज्ञानिक अनुसन्धान र प्रमाणमा आधारित प्रचार आवश्यक छ। पुरातात्विक स्थलको संरक्षण नगरी अव्यवस्थित रूपमा पर्यटकीय गतिविधि बढाउँदा सम्पदामा क्षति पुग्न सक्ने भएकाले संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता छ।
पर्यटन हब बन्ने आधार
पूर्व–पश्चिम र उतरदश्चिन राजमार्गसँग जोडिएको बर्दिबास मधेश प्रदेशको महत्वपूर्ण यातायात तथा व्यापारिक केन्द्र हो। यहाँबाट पहाडी तथा हिमाली क्षेत्रतर्फ जाने मार्गसमेत जोडिने भएकाले बर्दिबासलाई पर्यटनको प्रवेशद्वारका रूपमा विकास गर्न सकिने सम्भावना छ।
रातु सभ्यताको हजारौँ वर्ष पुरानो इतिहास, चुरेको प्राकृतिक सौन्दर्य, राईमण्डलको जैविक विविधता, टुटेश्वरनाथ र पञ्चधुरा माइस्थानको धार्मिक महत्व, कृषि तथा सांस्कृतिक पर्यटन र विकसित हुँदै गएको होटल व्यवसायलाई एउटै पर्यटन प्याकेजमा जोड्न सके बर्दिबास मधेश प्रदेशकै आकर्षक पर्यटन हब बन्न सक्छ।
अबको आवश्यकता सम्भावनाको चर्चा मात्र होइन, सम्पदाको वैज्ञानिक संरक्षण, पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र निजी क्षेत्रको लगानीलाई एकीकृत रूपमा अघि बढाउनु हो। त्यसो गर्न सके बर्दिबासले व्यापारिक चौराहाको पहिचानसँगै प्राचीन सभ्यता, प्रकृति, धर्म र संस्कृतिको आधुनिक पर्यटन गन्तव्यका रूपमा नयाँ पहिचान स्थापित गर्न सक्नेछ।
