धनुषामा ८१ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

भन्सार चोरीपैठारी नियन्त्रण अभियानलाई तीव्र बनाएको धनुषा प्रहरीले पछिल्लो २६ दिनमा ८१ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार साउन १ गतेदेखि २६ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ८१ लाख ७ हजार ७८६ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको हो। सो क्रममा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यही अवधिमा लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न २४ जनालाई पक्राउ गरी १९ वटा मुद्दा दर्ता गरिएको छ। उनीहरूबाट ३४ किलो गाँजा, १८५ दशमलव ८२ ग्राम खैरो हेरोइन, २४३ थान नाइट्रोजेपाम, पाँच थान स्पास्मोरेटल, १४ थान एन्टिकफ ट्याब्लेट र नौ थान कोलिबेन बरामद गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए।

त्यसैगरी, प्रहरीले हातहतियारसम्बन्धी एक मुद्दा दर्ता गर्दै तीन जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक थान पेस्तोल, एक थान म्यागजिन, ७.६५ केएफ लेखिएको एक थान गोली, नौ एमएम केएफ लेखिएको एक थान गोलीलगायत सामग्री बरामद भएको प्रहरीले जनाएको छ।

धनुषा प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई समेत प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। अभियानअन्तर्गत २६ दिनको अवधिमा ४१० वटा पक्राउ पुर्जी कार्यान्वयन गरिएको छ।

विभिन्न अदालतबाट फैसला भई सजाय तोकिएका व्यक्तिमाथि कारबाही गर्दै १५८ वर्ष ८ महिना ७ दिन कैद सजाय कार्यान्वयन गरिएको तथा ६३ लाख ७७ हजार २६१ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

प्रहरीले अवैध तस्करी, लागुऔषध तथा हातहतियार नियन्त्रणसँगै अदालतका फैसला कार्यान्वयन अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...