आज्ञा खबर
जनकपुरधाम ज
नकपुरधामस्थित जानकी मन्दिर नजिक रहेको तेल्हा पोखरीमा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भारतको बिहार राज्यस्थित हाजीपुर निवासी २० वर्षीय आदर्श कुमार झाको उपचारका क्रममा मृत्यु भएको हो। उनी आफ्ना साथीहरूसँग जानकी मन्दिरको दर्शन गर्न जनकपुरधाम आएका थिए।
प्रहरीका अनुसार पोखरीमा हाम फालेपछि उनी डुबेका थिए। स्थानीय युवाहरूले तत्काल उनको उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम पुर्याएका थिए। तर चिकित्सकहरूको प्रयासका बाबजुद उनको ज्यान जोगाउन सकिएन।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ।
प्रहरीले धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेका पोखरी र जलाशयमा विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।
