आज्ञा खबर
गौशाला
महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। दुर्घटनामा बसमा सवार पाँच जना विद्यार्थी सामान्यदेखि मध्यम अवस्थासम्म घाइते भएका हुन्।
प्रहरीका अनुसार बिहान करिब ७ः३० बजे गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा इमली बजारबाट गौशालातर्फ जाँदै गरेको मोर्डन सारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको बस अचानक नियन्त्रण गुमाएर सडकछेउको उखुबारीमा खसेको थियो।
दुर्घटनामा बस चालक गौशाला–५ का करिब ४० वर्षीय विजय भुजेल घाइते भएका छन्। त्यसैगरी गौशाला–११ का महेश्वर महतोका १० वर्षीय छोरा प्रतिक कुशवाहा, ८ वर्षीय प्रज्वल कुशवाहा र १३ वर्षीया प्रिति कुशवाहा, गौशाला–९ का शेख जावेदका १३ वर्षीय छोरा उमर शेख तथा गौशाला–११ का रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा पनि घाइते भएका प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्तिबजारबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा सबै घाइतेको उद्धार गरेको थियो। उनीहरूलाई उपचारका लागि गौशालास्थित बीके अस्पताल तथा अन्य स्थानीय स्वास्थ्य संस्थामा भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक रूपमा बस अनियन्त्रित भएका कारण दुर्घटना भएको देखिए पनि प्राविधिक अवस्था र चालकको पक्षसमेत अनुसन्धानको दायरामा राखिएको प्रहरीले जनाएको छ।
