सर्लाहीबाट एक क्विन्टलभन्दा बढी गाँजासहित दुई भारतीय पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही

सर्लाही प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। आज बिहान गरिएको विशेष चेकजाँचका क्रममा प्रहरीले एक क्विन्टल ९ किलो गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा लालबन्दी नगरपालिका–१ नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि चेकिङ सञ्चालन गरिएको थियो। सोही क्रममा बिहान करिब ५ बजे पूर्वतर्फ गइरहेको भारतीय नम्बर प्लेट बीआर ०९ एम ३७६६ नम्बरको कारलाई रोकेर जाँच गर्दा डिकीभित्र लुकाइराखिएको २३ वटा पोकामा रहेको एक क्विन्टल ९ किलो गाँजा फेला परेको हो।

बरामद गाँजासँगै कार चालक भारतको बिहार राज्यस्थित सितामढीका २६ वर्षीय दीपक कुमार महतो र कारमा सवार २५ वर्षीय अमन कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गाँजा कहाँबाट ल्याइएको हो र यसको गन्तव्य कहाँ थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...