जन्मदिनको अवसरमा फरक क्षमता भएका बालबालिकाको शिक्षामा मञ्जुको सहयोग

[sharethis-inline-buttons]

निकेश खनाल

बर्दिवास

जन्मदिन भन्नासाथ धेरैका लागि केक काट्ने, भोजभतेर गर्ने र साथीभाइ तथा आफन्तसँग रमाइलो गर्ने अवसरका रूपमा बुझिन्छ। तर, महोत्तरीको बर्दिवासकी समाजसेवी मञ्जु क्षेत्रीले भने आफ्नो जन्मदिनलाई फरक ढंगले मनाएकी छन्। उनले जन्मदिन मनाउँदा हुने अनावश्यक खर्च कटौती गरी त्यसलाई सामाजिक सेवामा रूपान्तरण गर्दै फरक क्षमता (अटिजम/स्वलिनता) भएका बालबालिकाको शिक्षामा सहयोग गरेकी छन्।

बर्दिवास नगरपालिका–२ स्थित सि,आसा फाउन्डेसनद्वारा सञ्चालित आसा विद्यालयलाई क्षेत्रीले आफ्नो जन्मदिनको अवसर पारेर रु. २५ हजार आर्थिक सहयोग गरेकी हुन्। बर्दिवास नगरपालिका प्रमुख प्रह्लाद कुमार क्षेत्रीकी धर्मपत्नीसमेत रहेकी क्षेत्रीले विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेकी बताइएको छ। क्षेत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठलाई रु. २५ हजारको चेक हस्तान्तरण गरेकी हुन्। जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी बालबालिकाको शिक्षा र सामाजिक सेवामा समर्पित गर्ने उनको प्रयासले सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण प्रस्तुत गरेको विद्यालयको भनाइ छ।

सामान्यतया जन्मदिन मनाउँदा हुने खर्च केही घण्टाको उत्सवमै सकिन्छ। तर, त्यही खर्चको केही हिस्सा सामाजिक काममा लगानी गर्दा त्यसले कसैको शिक्षा, स्वास्थ्य वा जीवनमा दीर्घकालीन प्रभाव पार्न सक्छ। क्षेत्रीको यसपटकको जन्मदिन मनाउने शैलीले पनि यही सन्देश दिएको छ—खुसी आफूले मात्र मनाउने होइन, अरूको जीवनमा पनि खुसी बाँड्न सकिन्छ। विद्यालयका अनुसार पछिल्लो समय जन्मदिन तथा अन्य व्यक्तिगत उत्सवका अवसरमा हुने अनावश्यक खर्च कटौती गरी सामाजिक उत्तरदायित्वका क्षेत्रमा सहयोग गर्ने प्रवृत्ति बढाउन सके त्यसले समाजमा सकारात्मक संस्कारको विकास गर्न सक्छ। क्षेत्रीले गरेको सहयोगलाई पनि विद्यालयले त्यस्तै सकारात्मक अभ्यासका रूपमा लिएको छ। सि,आसा फाउन्डेसनअन्तर्गत सञ्चालित आसा विद्यालयमा बर्दिवास नगरपालिकासहित आसपासका विभिन्न जिल्लाबाट आएका २५ जना फरक क्षमता (अटिजम/स्वलिनता) भएका बालबालिका अध्ययनरत छन्।

विद्यालयले बालबालिकालाई औपचारिक शिक्षासँगै उनीहरूको अवस्था र आवश्यकताअनुसार शैक्षिक सहजता तथा अन्य गतिविधि सञ्चालन गर्दै आएको छ। फरक क्षमता भएका बालबालिकाको शिक्षाका लागि आवश्यक स्रोत, साधन र वातावरण निर्माण गर्नु विद्यालयका लागि चुनौतीपूर्ण हुने गरेको अवस्थामा व्यक्तिगत तथा सामाजिक क्षेत्रबाट प्राप्त हुने सहयोगले विद्यालयको काममा केही सहजता ल्याउने गरेको छ।

क्षेत्रीबाट प्राप्त रु. २५ हजार सहयोग पनि बालबालिकाको शैक्षिक गतिविधि तथा आवश्यकतामा उपयोग गरिने विद्यालयले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठले समाजसेवी क्षेत्रीबाट प्राप्त सहयोगले विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक गतिविधि तथा आवश्यकतामा केही सहजता पुग्ने बताए। जन्मदिनलाई महँगा पार्टी, भोज र मनोरञ्जनमा मात्र सीमित नराखी आवश्यकतामा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा खर्च गर्ने संस्कारको विकास गर्न सके त्यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने देखिन्छ।

मञ्जु क्षेत्रीको जन्मदिनको अवसरमा गरिएको यो सहयोग त्यही सोचको एउटा सानो तर अर्थपूर्ण उदाहरण बनेको बर्दिवासका स्थानिय समाजसेबी पोशण थापाको भनाई छ।आफ्नो जन्मदिनमा आफूलाई खुसी बनाउने खर्चभन्दा अरूको भविष्यमा लगानी गर्ने सोचको कारण क्षेत्रीको जन्मदिन यसपटक केवल एउटा व्यक्तिगत उत्सव मात्रै रहेन, सामाजिक सेवाको एउटा सन्देश समेत बन्यो।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...