आज्ञा खबर
काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले शनिबार जारी गरेको विज्ञप्तिमा सांसद पौडेलमाथि जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा भएको उक्त घटनाको कडा शब्दमा निन्दा गरिएको छ।
विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोधका विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने अधिकार सबै नागरिकलाई भए पनि जनप्रतिनिधिमाथि हुने हिंसात्मक, अपमानजनक वा अमर्यादित व्यवहार कुनै पनि दृष्टिले स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ।
रास्वपाले यस्ता गतिविधिले लोकतान्त्रिक संस्कार, विधिको शासन र सभ्य राजनीतिक अभ्यासलाई कमजोर बनाउने भन्दै चिन्ता व्यक्त गरेको छ। साथै घटनामा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार निष्पक्ष अनुसन्धान गरी आवश्यक कारबाही गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ।
विज्ञप्तिमा रास्वपाले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, अहिंसात्मक राजनीतिक संस्कार तथा सभ्य राजनीतिक अभ्यासप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
