आज्ञा खबर
काठमाडौं
आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यस दिनदेखि भगवान् विष्णु चार महिनासम्म क्षीरसागरमा योगनिद्रामा रहने धार्मिक विश्वासका आधारमा चातुर्मास व्रतको सुरुआत हुने गर्दछ।
हरिशयनी एकादशीका अवसरमा बिहानैदेखि विष्णु मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ। काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंखुनारायण, शेषनारायण तथा इचंगुनारायणलगायतका मन्दिरमा विशेष पूजा, दर्शन र भजन–कीर्तनको आयोजना गरिएको छ। देशका अन्य प्रमुख विष्णु मन्दिरहरूमा पनि श्रद्धालुको उल्लेखनीय उपस्थिति रहेको छ।
यस अवसरमा घर–घरमा तुलसीको बिरुवा रोप्ने तथा नियमित पूजा गर्ने परम्परा रहेको छ। सनातन परम्परामा तुलसीलाई भगवान् विष्णुको प्रिय वनस्पतिका रूपमा मानिन्छ। धार्मिक मान्यताअनुसार हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ।
धर्मशास्त्रका जानकारहरूका अनुसार एक वर्षमा २४ वटा एकादशी पर्ने भए पनि हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्वका साथ मनाइन्छ। हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुको निद्रा समाप्त हुने र तुलसी विवाह सम्पन्न गर्ने परम्परा रहेको छ।
धार्मिक महत्वका अतिरिक्त तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पति मानिन्छ। आयुर्वेदमा यसको प्रयोग विभिन्न रोगको उपचारमा गरिँदै आएको छ। घरको आँगन वा तुलसीको मठमा तुलसी रोप्दा वातावरण शुद्ध हुने र सकारात्मक ऊर्जा प्रवाह हुने जनविश्वास पनि रहेको छ।
