धार्मिक तीर्थसँगै प्रकृतिको आकर्षण बन्दै धनुषाधाम वनस्पति उद्यान

[sharethis-inline-buttons]

आज्ञा खबर

धनुषा

धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित धनुषाधाम अहिले प्रकृतिमैत्री पर्यटनको पनि महत्वपूर्ण गन्तव्य बन्दै गएको छ। धार्मिक सम्पदासँगै जैविक विविधता, दुर्लभ वनस्पति, अध्ययन–अनुसन्धानको पूर्वाधार र हरियाली वातावरणका कारण धनुषाधाम वनस्पति उद्यानमा पछिल्ला वर्षहरूमा पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढेको छ।

जनकपुरधामबाट करिब १८ किलोमिटर पूर्वमा रहेको धनुषाधामस्थित वनस्पति उद्यान धार्मिक स्थलबाट करिब १०० मिटरको दूरीमा फैलिएको छ। भगवान् शिवको धनुषको अंश यहीँ खसेको धार्मिक विश्वासले वर्षभरि हजारौं श्रद्धालु धनुषाधाम पुग्ने गर्छन्। पछिल्लो समय तीर्थयात्रीहरू मन्दिर दर्शनपछि वनस्पति उद्यानमा पुगेर प्रकृतिसँग समय बिताउने क्रम बढेको स्थानीयवासी बताउँछन्।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको यो उद्यान संरक्षण, अनुसन्धान र वातावरणीय शिक्षालाई केन्द्रमा राखेर स्थापना गरिएको भए पनि अहिले पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित हुन थालेको छ।

वनस्पति उद्यानका प्रमुख ताहिर हुसेनका अनुसार उद्यानमा हाल २७६ प्रजातिका वनस्पति संरक्षण गरिएको छ। तीमध्ये ७४ प्रजातिका रुख, ४८ प्रजातिका बुट्यान, १३४ प्रजातिका झारपात तथा २० प्रजातिका लहरे वनस्पति समावेश छन्। दुर्लभ तथा लोपोन्मुख प्रजातिको संरक्षणसँगै वैज्ञानिक अध्ययनका लागि आवश्यक संरचना पनि निर्माण गरिएको उनले बताए।

करिब १२० हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानभित्र धार्मिक वाटिका, नक्षत्र वाटिका, जडीबुटी शैक्षिक वाटिका, जल उद्यान, धनुष वाटिका, जलीय वनस्पति उद्यान, फूल उद्यान तथा ‘ट्याक्सोनोमिकल फेमिली वाटिका’ स्थापना गरिएका छन्। धार्मिक वाटिकामा धार्मिक महत्वका वृक्ष, नक्षत्र वाटिकामा २७ नक्षत्र, १२ राशि र नौ ग्रहसँग सम्बन्धित बिरुवा संरक्षण गरिएको छ भने जलीय उद्यानमा विभिन्न जलचर वनस्पतिको संरक्षण गरिएको छ।

जडीबुटी शैक्षिक वाटिकाले विद्यार्थी तथा अनुसन्धानकर्तालाई प्रत्यक्ष अध्ययनको अवसर उपलब्ध गराइरहेको छ। उद्यानमा सूचना केन्द्रसँगै वनस्पतिको सुगन्धित तेलको प्रतिशत परीक्षण गर्न रासायनिक प्रयोगशाला (केमिस्ट्री ल्याब) समेत सञ्चालनमा रहेको प्रमुख हुसेनले जानकारी दिए।

केही वर्षअघिसम्म दैनिक १० देखि २० जनासम्म मात्र आगन्तुक आउने गरेको उद्यानमा अहिले दैनिक ३०० देखि ४०० जनासम्म पुग्ने गरेका छन्। अधिकांश आन्तरिक पर्यटकसँगै भारतबाट आउने धार्मिक पर्यटक र विभिन्न विद्यालय तथा विश्वविद्यालयका अध्ययन टोलीहरू पनि उद्यान भ्रमणका लागि आउने गरेका छन्।

उद्यानका कर्मचारी सुरेश भण्डारीका अनुसार हालसम्म अवलोकनका लागि प्रवेश शुल्क नलिइए पनि मन्त्रालय र विभागबाट प्राप्त निर्देशनअनुसार निकट भविष्यमा शुल्क निर्धारण गरिने तयारी भइरहेको छ।

धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन भट्टराईले वनस्पति उद्यानको संरक्षण, प्रवर्द्धन र बहुउपयोगिताको विकासमा स्थानीय सरकार सहकार्य गर्न तयार रहेको बताए। उनका अनुसार उद्यानमा बढ्दो पर्यटक आगमनले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, कृषि उत्पादन तथा साना व्यवसायमा सकारात्मक प्रभाव पर्न थालेको छ।

स्थानीय युवा सन्तोष मण्डलले उद्यानले पर्यटनसँगै रोजगारीका नयाँ अवसर सिर्जना गरिरहेको बताए। आधुनिक सूचना केन्द्र, डिजिटल गाइड प्रणाली, प्रकृति पदमार्ग, बाल उद्यान, साइकल ट्र्याक तथा अनुसन्धान केन्द्र विस्तार गर्न सकिए धनुषाधाम वनस्पति उद्यान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बन्न सक्ने उनको विश्वास छ।

स्थानीय व्यवसायी शङ्कर साहका अनुसार पर्यटकको चाप बढेसँगै आसपासका क्षेत्रमा होटल तथा अन्य सेवा व्यवसाय विस्तार हुन थालेका छन्। प्रभावकारी प्रचार–प्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके उद्यानले मधेश प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

धार्मिक महत्व, प्राकृतिक सौन्दर्य, जैविक विविधता, वातावरणीय शिक्षा र अनुसन्धानलाई एकै ठाउँमा समेटेको धनुषाधाम वनस्पति उद्यान अहिले धार्मिक तीर्थस्थलको सीमित परिचयबाट अघि बढेर प्रकृतिप्रेमी, विद्यार्थी, अनुसन्धानकर्ता तथा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...