जनकपुरमा मिटरब्याज पीडितको खबरदारी : पक्राउ परेकामाथि कडा कानुनी कारबाहीको माग

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम

मिटरब्याजको आरोपमा पक्राउ परेका तीन जनामाथि कडा कानुनी कारबाही गर्न माग गर्दै मिटरब्याज पीडितहरूले शुक्रबार जनकपुरधाममा प्रदर्शन गरेका छन्।

पीडितहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अदालत धनुषा अगाडि भेला भएर दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने भन्दै नाराबाजी गरेका हुन्। उनीहरूले पक्राउ परेकाहरूले वर्षौंदेखि अनुचित लेनदेनमार्फत सर्वसाधारणलाई आर्थिक रूपमा शोषण गरेको आरोप लगाएका छन्।

धनुषा प्रहरीले बिहीबार जनकपुरधाम उपमहानगरपालिका–१६ का हरेराम साह, उनकी आमा रेखाकुमारी साह तथा काका गोपाल साहलाई मिटरब्याजसम्बन्धी उजुरीका आधारमा पक्राउ गरेको थियो। उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रदर्शनमा सहभागी पीडितहरूले पक्राउ परेका व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम सजाय सुनिश्चित गर्नुपर्ने माग राखेका छन्। साथै, जिल्लामा अझै सक्रिय रहेको आरोप लागेका अन्य मिटरब्याजीमाथि पनि छानबिन गरी कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन्।

पीडितहरूको भनाइमा मिटरब्याजका कारण धेरै परिवारले घरजग्गा गुमाउनुका साथै आर्थिक र सामाजिक पीडा भोग्नुपरेको छ। त्यसैले यस्ता घटनाको स्थायी समाधानका लागि प्रभावकारी कानुनी कार्यान्वयन आवश्यक रहेको उनीहरूको जोड छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...