आज्ञा खबर
काठमाडौं
आन्दोलनरत मिटरब्याज (अनुचित लेनदेन) पीडित पक्ष र सरकारबीच आज औपचारिक सम्झौता हुने भएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै पक्षबीच अन्तिम चरणको वार्ता सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गत बुधबार सिमरामा भएको वार्तामा मौखिक रूपमा भएका सहमतिलाई आज लिखित सम्झौतामा परिणत गरिने तयारी गरिएको हो। त्यससँगै आन्दोलनका क्रममा उठाइएका माग सम्बोधन गर्ने विषयमा सहमतिलाई औपचारिकता दिइनेछ।
सम्झौताअघि बिहीबार पनि सरकारी वार्ता टोली र पीडित प्रतिनिधिबीच लामो छलफल भएको थियो। सोही छलफलबाट टुंगो लागेका विषयलाई आधार बनाएर आज सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको जनाइएको छ।
सरकारी पक्षको वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली तथा भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्य रहेका छन्।
यता, पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहेका छन्। टोलीमा सिरहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी सदस्य रहेका छन्।
आज हुने लिखित सम्झौतासँगै लामो समयदेखि जारी मिटरब्याज पीडितहरूको आन्दोलन समाधानतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।
