आज्ञा खबर
बर्दिवास
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै महोत्तरी क्षेत्र नम्बर १ का नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई तत्काल कारागारबाट रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामा राख्ने आधार कानुनी रूपमा पर्याप्त नरहेको ठहर गर्दै रिहा गर्न आदेश जारी गरेको हो।
सर्वोच्चले १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनअनुसार जारी नभएको निष्कर्ष निकाल्दै त्यसकै आधारमा गरिएको थुना वैधानिक रूपमा कायम रहन नसक्ने व्याख्या गरेको छ। अदालतले कैदी पुर्जी नै कानुनसम्मत नदेखिएकाले त्यसबाट सिर्जित थुना पनि अमान्य हुने जनाएको छ।

कोइरी मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा दोषी ठहर भएका थिए। उक्त मुद्दामा उच्च अदालत जनकपुरले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि फैसला आएको भोलिपल्ट नै पक्राउ परेका कोइरीलाई जलेश्वर कारागार चलान गरिएको थियो।
तर, सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै उनीमाथि गरिएको थुना प्रक्रिया कानुनी मापदण्डअनुकूल नरहेको ठहर भएको छ। अदालतको आदेशअनुसार सम्बन्धित निकायले उनको रिहाइ प्रक्रिया अघि बढाउनेछ।
