५० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने घरायसी उपभोक्तालाई आजदेखि ५ प्रतिशत भ्याट

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं

चालु आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गतेदेखि विद्युत् महसुलमा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) व्यवस्था कार्यान्वयनमा आएको छ। सरकारले बजेटमार्फत घोषणा गरेको व्यवस्था अनुसार अब ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्ताले ५ प्रतिशत भ्याट तिर्नुपर्ने भएको हो।

आन्तरिक राजस्व विभागका अनुसार घरायसी प्रयोजनका लागि मात्र विद्युत् प्रयोग गर्ने उपभोक्तालाई ‘अन्तिम उपभोक्ता’को रूपमा परिभाषित गरिएको छ। यस्ता उपभोक्तालाई ५ प्रतिशत भ्याट लाग्नेछ भने व्यावसायिक, औद्योगिक तथा अन्य प्रयोजनका लागि विद्युत् प्रयोग गर्ने सबै उपभोक्ताले भने १३ प्रतिशतकै दरमा भ्याट तिर्नुपर्नेछ।

विभागले आर्थिक ऐनअनुसार कार्यविधि तयार गरी अन्तिम उपभोक्ताको स्पष्ट परिभाषा गरेको जनाएको छ। उत्पादन, व्यापार वा औद्योगिक गतिविधिमा प्रयोग हुने विद्युत्लाई अन्तिम उपभोक्ताको श्रेणीमा नराखिएको विभागको भनाइ छ।

यस व्यवस्थाको कार्यान्वयनका लागि नेपाल विद्युत् प्राधिकरणले आफ्नो बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको छ। प्राधिकरणका वित्त विभागका अनुसार साउन १ गतेदेखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत भ्याट स्वतः समावेश हुनेछ।

यस्तै, सरकारले राइड सेयरिङ सेवामा पनि भ्याट लागू गरेको छ। सम्बन्धित कम्पनीहरूले नयाँ व्यवस्थाअनुसार बिलिङ प्रणाली तयार गरिसकेको जनाइएको छ। यद्यपि, ती कम्पनीहरूको बिलिङ प्रणाली अझै आन्तरिक राजस्व विभागको अनलाइन प्रणालीसँग पूर्ण रूपमा आबद्ध भइसकेको छैन। विभागले हाल तोकिएको ढाँचाअनुसार बिल जारी गर्ने र क्रमशः अनलाइन प्रणालीमा आबद्ध गरिने जनाएको छ।

सरकारले कर प्रणालीलाई व्यवस्थित र राजस्व संकलनलाई प्रभावकारी बनाउने उद्देश्यले विद्युत् र राइड सेयरिङ सेवामा नयाँ भ्याट व्यवस्था लागू गरेको जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...