आज्ञा खबर
काठमाडौं
मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले सोमबार उक्त मुद्दामा फैसला सुनाउँदै अहिराजलाई दोषी ठहर गरेको हो।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले दोषी ठहर गरे पनि सजाय भने निर्धारण गरिसकेको छैन। अदालतले सजाय तोक्न आगामी साउन ३२ गतेका लागि छुट्टै पेसी निर्धारण गरेको छ।
अहिराजलाई एक महिलाले २०८१ साल जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। घटनापछि उनले आरोप अस्वीकार गर्दै जाहेरीकर्ताविरुद्ध नै प्रतिवादी मुद्दा दायर गरेका थिए।
प्रहरीले अनुसन्धानका क्रममा पर्याप्त आधार फेला पारेपछि २०८२ साल साउन ४ गते अहिराजलाई पक्राउ गरेको थियो। त्यसपछि सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर गरेको थियो।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले २०८२ साल साउन १४ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी डिल्लीबजार कारागारमा रहेका छन्।
पूर्वपत्रकार तथा मधेशको राजनीतिमा सक्रिय रहेका अहिराजलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल फागुन ७ गते मधेश प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। अब अदालतले आगामी पेसीमा उनको सजाय निर्धारण गर्नेछ।
