आज्ञा खबर
काठमाडौं
काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा एक ४५ वर्षीय पुरुषले शनिबार बिहान आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहान करिब ६:१५ बजे बुद्धनगरस्थित डेरामा बस्दै आएका अश्विन राउतले आफ्नै शरीरमा आगो लगाएका हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा अघिल्लो रात छोरासँग भएको विवादपछि उनले यस्तो कदम चालेको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीय र प्रहरीको सहयोगमा उनको तत्काल उद्धार गरी वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। प्रहरीका अनुसार राउतको शरीरको करिब ५० प्रतिशत भाग जलेको छ र उनको उपचार भइरहेको छ।
प्रहरीले घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पछिल्ला केही दिनयता आत्मदाहका घटनाले चिन्ता बढाएको छ। बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले आत्मदाह गरेका थिए। उपचारका क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको थियो। त्यसैगरी सर्लाहीका विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लगेर उपचार भइरहेको छ।
