आज्ञा खबर
काभ्रेपलाञ्चोक
वर्षेनी बाढी र पहिरोका कारण प्रभावित हुँदै आएको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब सडक अवरुद्ध भए पनि लामो समय सवारी रोकिनुपर्ने अवस्था नआउने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले वर्षायामभर सडक बन्द भए अधिकतम आधा घण्टाभित्र सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी पूरा गरेको जनाएको छ।
कार्यालयका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बाढी र पहिरोले क्षति पुर्याएका अधिकांश स्थानमा पुरानै सडक मार्ग पुनःनिर्माण गरिसकिएको छ। पुनःनिर्माण सम्पन्न भएका खण्डमा अहिले नै नियमित रूपमा सवारी आवागमन भइरहेको उहाँले जानकारी दिनुभयो।
यसअघि रोशी खोलामा पानीको बहाव बढ्दा खोलामाथि बनाइएको अस्थायी डाइभर्सन पटक–पटक बग्ने समस्या थियो। त्यसका कारण सवारी सञ्चालनमा अवरोध सिर्जना हुने गरेको भए पनि अब पुनर्निर्माण गरिएको ट्र्याक प्रयोगमा ल्याइने भएकाले यस्तो समस्या न्यून हुने अपेक्षा गरिएको छ।
हाल चौकीडाँडादेखि कटुञ्जेबेँसी, लास्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेधैरसम्मका विभिन्न खण्डमा पुरानै मार्गबाट सवारी सञ्चालन भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
कार्यालयले चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालोढुंगा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई वर्षायाममा बढी जोखिम हुने स्थानका रूपमा वर्गीकरण गरेको छ। ती क्षेत्रमा सम्भावित अवरोध तत्काल हटाउन आवश्यक जनशक्ति, उपकरण तथा निर्माण सामग्री तयारी अवस्थामा राखिएको जनाइएको छ।
कार्यालयका अनुसार क्षतिग्रस्त सडकमा ग्राभेल बिछ्याउने, भत्किएका भाग पुनःनिर्माण गर्ने तथा सवारी सञ्चालन सहज बनाउन आवश्यक मर्मतसम्भारको काम सम्पन्न भइसकेको छ। यस व्यवस्थासँगै वर्षायाममा पनि बीपी राजमार्गमा यातायात सञ्चालनलाई सकेसम्म निरन्तरता दिने लक्ष्य राखिएको सडक डिभिजन कार्यालयले जनाएको छ।
