माधव पौडेल
बर्दिबास, महोत्तरी
कृषिमा आधुनिकीकरण, पशुपालन व्यवसायलाई थप प्रभावकारी बनाउने तथा हरियो घाँस व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले बर्दिबास नगरपालिकाले ६० प्रतिशत अनुदानमा च्यापकटर (चाफ कटर) वितरण गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत पशु सेवा शाखा मार्फत तोकिएको वडाहरुका २७ जना पशुपालक किसानको लागि २७ वटा चाफ कटर वितरण गरीएको हो ।
चाफ कटर वितरण गर्दै वर्दिबास नगरप्रमुख प्रहलाद कुमार क्षेत्रीले पशुपालन व्यवसायलाई व्यावसायिक र उत्पादनमुखी बनाउने लक्ष्यसहित कृषकको मागका आधारमा च्यापकटर वितरण गरेको वताए । कार्यक्रममा सहभागी कृषकहरूले ४० प्रतिशत लागत व्यहोरेका छन् भने बाँकी ६० प्रतिशत रकम नगरपालिकाले अनुदानस्वरूप उपलब्ध गराएको हो । यस कार्यक्रमबाट विशेषगरी गाई, भैँसी, बाख्रा लगायतका पशुपालन गर्ने कृषक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा थप कुरा राख्दै नगर प्रमुख क्षेत्रीले कृषिमा यान्त्रीकरणको विस्तार बिना उत्पादन लागत घटाउन र प्रतिस्पर्धात्मक कृषि प्रणाली विकास गर्न कठिन हुने उल्लेख गरे । पशुपालनलाई आधुनिक प्रविधिसँग जोड्दै कृषकको आम्दानी वृद्धि गर्ने उद्देश्यले यस्ता अनुदानमूलक कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिइने विश्वास व्यक्त गरिएको छ । कृषकलाई उपलब्ध गराइएका उपकरणको सही प्रयोग, नियमित मर्मतसम्भार तथा दीर्घकालीन उपयोगमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
पशु सेवा शाखाका मोहन खड्काका अनुसार च्यापकटर प्रयोगबाट घाँस तथा पराललाई साना–साना टुक्रामा काट्न सकिने भएकाले पशुले सजिलै खाने, दाना तथा घाँसको खेर जाने मात्रा कम हुने र पशुको उत्पादन क्षमतामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । यसले दैनिक श्रम र समयको बचत हुनुका साथै दुग्ध तथा मासु उत्पादन व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
अनुदान प्राप्त गर्ने वर्दिवास नगरपालिका १२ का रामभगत पासवानका अनुसार नगरपालिकाको कार्यक्रमले आफूहरूलाई आधुनिक उपकरण प्रयोग गर्न प्रोत्साहन मिलेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार हातैले घाँस काट्नुपर्ने झन्झट हट्ने, समय बचत हुने र पशुलाई गुणस्तरीय आहार उपलब्ध गराउन सहज हुने भएकाले यस्ता कार्यक्रमले ग्रामीण कृषकलाई प्रत्यक्ष राहत पुगेको छ ।
बर्दिबास नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि, लागत न्यूनीकरण र कृषकको आयआर्जन बढाउने उद्देश्यका साथ विभिन्न अनुदान तथा प्रविधिमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले आगामी दिनमा समेत कृषकको आवश्यकता र मागका आधारमा यस्ता कृषि यान्त्रीकरणसम्बन्धी कार्यक्रमलाई थप विस्तार गर्ने जनाएको छ ।
