उखु किसानको खातामा पुग्यो करिब दुई अर्ब रुपैयाँ, बाँकी रकम असारभित्र दिने तयारी

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी

महोत्तरीका दुई चिनी उद्योगले चालु आर्थिक वर्ष २०८२/८३ मा उखु बिक्री गरेका किसानलाई करिब दुई अर्ब रुपैयाँ भुक्तानी गरेका छन्। जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार हालसम्म एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ किसानको खातामा जम्मा भइसकेको छ।

गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज तथा गौशाला नगरपालिका–१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा किसानले यस वर्ष कुल २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलोग्राम उखु बिक्री गरेका थिए। सो उखुको कुल मूल्य एक अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ रुपैयाँ निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवका अनुसार उद्योगबाट किसानलाई भुक्तानी हुने अधिकांश रकम वितरण भइसकेको छ भने बाँकी रकम र सरकारले उपलब्ध गराउने अनुदानसमेत छिट्टै उपलब्ध गराइने प्रक्रिया अघि बढाइएको छ।

उहाँका अनुसार उखु किसानलाई प्रदान गरिने सरकारी अनुदानका लागि २० करोड ७ लाख ५९ हजार ११७ रुपैयाँ कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीमा सिफारिस गरिएको छ। उक्त रकम जिल्ला भुक्तानी समितिको निर्णयअनुसार सिफारिस गरिएको हो।

महोत्तरीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भुक्तानी समितिले उद्योग, प्रशासन र किसानबीच समन्वय गर्दै भुक्तानी प्रक्रिया सहजीकरण गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ।

जिल्ला प्रशासन कार्यालयले यस आर्थिक वर्षको उखु बिक्रीबापत बाँकी रहेको रकम तथा सरकारी अनुदानसमेत यही असार महिनाभित्र किसानको बैंक खातामा जम्मा गर्ने लक्ष्य रहेको जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...