जिल्लामै पहिलो पटक मिर्गौला रोगीका लागि डायलासिस सेवा सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर

सर्लाही

मधेश प्रदेशको सर्लाही जिल्लामा पहिलो पटक मिर्गौला रोगीका लागि डायलासिस सेवा सुरु भएको छ। ईश्वरपुर नगरपालिका–६ बयलवासस्थित नगर अस्पतालमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गलीलाल राय ले उक्त सेवाको औपचारिक उद्घाटन गरे।

यसअघि डायलासिस गराउनका लागि बिरामीहरूलाई बर्दिवास, जनकपुर, वीरगञ्ज, भरतपुर वा काठमाडौँ धाउनुपर्ने बाध्यता थियो। नयाँ सेवासँगै स्थानीय स्तरमै उपचार सम्भव भएको छ।

ईश्वरपुर नगरपालिका नगरप्रमुख मनोजकुमार आचार्य का अनुसार पूर्व सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल को कार्यकालमा प्राप्त दुईवटा डायलासिस मेसिनमार्फत सेवा सुरु गरिएको हो। हाल उपलब्ध उपकरणबाट दैनिक दुई जनालाई मात्र सेवा दिन सकिने अवस्था रहेको छ।

स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतो ले सङ्घीय सरकारबाट आवश्यक सहयोग प्राप्त गर्न कम्तीमा पाँचवटा मेसिन सञ्चालनमा ल्याउनुपर्ने प्रावधान रहेको जानकारी दिए। त्यसका लागि थप उपकरण जुटाउने प्रयास जारी रहेको उनले बताए।

नगरपालिकाले मधेश प्रदेश सरकारसँग समन्वय गर्दै थप तीनवटा मेसिन ल्याउने पहल गरिरहेको छ। उद्घाटन समारोहमा मन्त्री रायले आवश्यक मेसिन र प्राविधिक जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले साना आयोजनाभन्दा धेरै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने योजनामा बजेट केन्द्रित गर्ने नीति रहेको पनि स्पष्ट पारे।

डायलासिस सेवा सञ्चालनका लागि नगर अस्पतालले नयाँ जनशक्ति व्यवस्थापन गरेको छ। डायलासिस असिस्टेन्टका रूपमा सुस्मिता सिंह नियुक्त भएकी छन् भने डा. दीर्घनारायण दास र स्टाफ नर्स ममता साहलाई आवश्यक तालिम प्रदान गरिएको छ।

नगरपालिकाले आफ्ना बासिन्दाका लागि सेवा निःशुल्क बनाएको छ भने अन्य क्षेत्रबाट आउने सेवाग्राहीका लागि प्रति पटक २ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ। आवश्यक रगतको आपूर्तिका लागि मलङ्गवास्थित प्रादेशिक अस्पतालको ब्लड बैंकसँग सहकार्य गरिने जनाइएको छ।

मन्त्री रायले निकट भविष्यमै नगर अस्पतालमै ब्लड बैंक स्थापना गर्ने योजना अघि बढाइने बताए। उनले सर्लाहीमै पहिलोपटक यस्तो सेवा सुरु हुनु स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...