निकेश खनाल
बर्दिवास
स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो भन्ने भनाइलाई व्यवहारमै प्रमाणित गर्दै बर्दिवास नगरपालिकाले एक बिपन्न परिवारका सदस्यको जीवन रक्षाका लागि उल्लेखनीय पहल गरेको छ। बर्दिवास नगरपालिका–१२ निवासी संताषी महतोका ४६ वर्षीय छोरा राम प्रबोध महतो विगत दुई वर्षदेखि मुटुरोगसँग संघर्ष गर्दै आएका थिए। तर आर्थिक अभावका कारण उपचार गराउन नसक्दा उनको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको थियो।
दैनिक ज्याला मजदुरी गरेर परिवार धान्दै आएका महतोका लागि महँगो उपचार सम्भव थिएन। अस्पतालसम्म पुग्नसमेत कठिनाइ भोगिरहेको अवस्थामा उनको पीडा केवल परिवारमै सीमित थिएन, यो हाम्रो समाजको एउटा कटु यथार्थको चित्र बनेको थियो—जहाँ आर्थिक अभावले जीवन र मृत्युबीचको दूरी झन् बढाइदिन्छ।

यही अवस्थामा बर्दिवास नगरपालिकाले हस्तक्षेप ग¥यो। नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री स्वयं महतोको घरमै पुगेर उनको स्वास्थ्य अवस्था बुझ्ने मात्र होइन, तत्काल उपचारको व्यवस्था गर्न सक्रिय भूमिका खेले। महतोको घरमा पुग्नेबित्तिकै उनले बर्दिवास नगर अस्पतालको एम्बुलेन्सलाई फोनमार्फत निर्देशन दिँदै महतोलाई तुरुन्त अस्पताल भर्ना गर्न लगाए।
नगर अस्पतालमा प्रारम्भिक उपचार सुरु भए पनि त्यहाँ आवश्यक सुविधा अभावका कारण थप उपचार सम्भव नभएपछि महतोलाई काठमाडौँ रेफर गर्ने निर्णय गरियो। त्यसपछि बर्दिवास नगरपालिकाकै एम्बुलेन्समार्फत निशुल्क रूपमा काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा पु¥याइयो। यो प्रक्रिया केवल एक प्रशासनिक काम मात्र थिएन, यो मानवीय संवेदनाको उत्कृष्ट उदाहरण पनि थियो।
नगरप्रमुख क्षेत्रीको सचिवालयका अनुसार महतोको उपचारमा लाग्ने सम्पूर्ण खर्च बर्दिवास नगरपालिकाले व्यहोर्नेछ। यसले आर्थिक रूपमा कमजोर नागरिकका लागि स्थानीय सरकार कति संवेदनशील हुन सक्छ भन्ने स्पष्ट देखाएको छ।
यो घटनाले स्थानीय तहको भूमिकालाई अझ प्रस्ट बनाएको छ—जहाँ केवल विकास निर्माण मात्र होइन, नागरिकको स्वास्थ्य, जीवन र आधारभूत आवश्यकतामा समेत चासो र जिम्मेवारी लिनुपर्ने देखिन्छ। बर्दिवास नगरपालिकाको यो कदमले अन्य स्थानीय तहलाई पनि प्रेरणा दिन सक्छ, जसले बिपन्न र असहाय नागरिकका लागि आशाको किरण बन्नेछ।
राम प्रबोध महतो अहिले उपचारको क्रममा छन्। उनको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ। तर यो घटनाले एउटा ठूलो सन्देश दिएको छ—यदि सरकार संवेदनशील हुन्छ भने, कुनै पनि नागरिक उपचार अभावमा जीवन गुमाउन बाध्य हुनुपर्दैन।
स्थानीय सरकारको यही मानवीय अनुहारले नै लोकतन्त्रलाई जनतासँग अझ नजिक बनाउनेछ।
