आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिका बिपद् ब्यवस्थापन समितीको बैठक बिहिवार सम्पन्न भएको छ। बर्दिवासका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको अध्यक्षतामा भएको बैठकमा नगरपालिकाले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकमा भएको छलफलले विपद् जोखिम न्यूनीकरण तथा विपद् पूर्वतयारीका कार्यलाई अझ प्रभावकारी बनाएर लागू गर्न समयमै सूचना प्रवाह आवश्यक रहेको निष्कर्ष निकालेको छ। यसका लागि बर्दिवास नगरपालिकाको विपद् जोखिम सञ्चार योजना–२०८२ लाई अनुमोदन गर्न नगर कार्यपालिकाको बैठकमा पेश गर्न अनुरोध गर्ने निर्णय गरिएको हो।
त्यसैगरी मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएपछि नगरपालिकामा रहेका विभिन्न संरचना तथा पूर्वाधारमा भएको क्षतिलाई मध्यनजर गर्दै राहत तथा पुनःनिर्माण कार्य अघि बढाउने निर्णय समेत गरिएको नगरपालिकाले जनाएको छ। जस अन्तर्गत क्षतिग्रस्त सडक, बाटो, नाला, मठ–मन्दिर, खानेपानी आयोजना मर्मत तथा निर्माणका साथै क्षति भएका निजी घरहरूको पुनःनिर्माणका लागि आवश्यक सामग्री खरिद, निर्माण तथा मर्मत कार्यमा भएको खर्चको प्राविधिक अनुमान,बिल, भरपाई र सिफारिसका आधारमा नियमअनुसार भुक्तानी उपलब्ध गराउन नगर कार्यपालिकालाई अनुरोध गर्ने निर्णय भएको बताईएको छ।
त्यसका साथै यसबर्षको जाडो मौषममा हुन सक्ने अत्यधिक चिसो तथा शीतलहरका कारण नागरिकको स्वास्थ्य र जनजीवन प्रभावित हुने अवस्था देखिएमा जोखिममा रहेका परिवार, समुदाय तथा वडाको पहिचान गरी आवश्यक न्यानो सामग्री (जाडो कपडा÷ब्ल्याङ्केट) खरिद गरी वितरण गर्ने निर्णय गरिएको छ।
नगरपालिकाको यी निर्णयहरूले विपद् व्यवस्थापनलाई व्यवस्थित बनाउने र प्रभावित नागरिकलाई समयमै राहत पु¥याउने विश्वास बर्दिवास नगरपालिकाले लिएको छ।





































