जलेश्वर प्रादेशिक अस्पतालमा चरम अव्यवस्थाको आरोप, जेनजी युवाहरू सडकमा

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
प्रादेशिक अस्पताल जलेश्वरमा पछिल्ला दिनमा सेवा गुणस्तर कमजोर बन्दै गएको भन्दै जेनजी युवाहरूले सोमबार विरोध प्रदर्शन गर्दै ११ बुँदे मागपत्र सार्वजनिक गरेका छन्। अस्पतालमा मौजुदा समस्या समाधानका लागि तुरुन्त कदम चाल्नुपर्ने उनीहरूको माग छ।
युवाहरूले अस्पतालमा कर्मचारी भर्नामा देखिएको मनपरी, विशेषज्ञ गाइनोकोलोजिस्ट तथा एमडीजीपी डाक्टरको अभाव, गर्भवती महिलाहरूलाई निरन्तर रेफर गर्न बाध्य पारिएको अवस्था लगायतका गम्भीर विषय उठाएका छन्। उनीहरूको भनाइमा, सरकारले उपलब्ध गराएका निःशुल्क औषधि भेटिँदैनन्, पूर्ण रूपमा सञ्चालन हुनुपर्ने बेड मृत अवस्थामा छन्, र अस्पतालका महत्वपूर्ण उपकरण जस्तै आरओ प्लान्ट र भेन्टिलेटर वर्षौँदेखि प्रयोगविहीन अवस्थामा छन्।
युवाहरूले सेवा अव्यवस्थाको दायरा अझ गहिरो रहेको बताउँदै ड्रेसिङ र एक्स–रे कार्य कार्यालय सहयोगीसँग गराइनु, डायलिसिस सेवा कमजोर हुनु, सुरक्षा गार्डहरूमा अनुशासनहीनता, अस्पताल परिसर फोहोर हुनु जस्ता समस्यालाई उदाहरणका रूपमा प्रस्तुत गरे। साथै उनीहरूले अस्पताल व्यवस्थापन समितिका अध्यक्षको अनियमितता को विषय पनि सार्वजनिक रूपमा उठाएका छन्।
यता, अस्पतालका निमित्त प्रमुख डा. विकासकुमार साह ले भने आन्दोलनकारीहरूको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार अस्पतालले मधेस प्रदेश सरकार र स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको स्रोत तथा संरचनाभित्रै रहेर सेवा दिइरहेको छ। “अस्पतालमा स्रोतको अभाव हुँदा केही चुनौती त छन्, तर उपलब्ध साधनमै उत्कृष्ट सेवा दिन हामी निरन्तर प्रयासरत छौँ,” डा. साहको भनाइ छ।

महोत्तरीको सदरमुकाम तथा सीमावर्ती भारतीय क्षेत्रका हजारौँ नागरिकको प्रमुख उपचार केन्द्र मानिने जलेश्वर प्रादेशिक अस्पतालमा इमरजेन्सी सेवासमेत प्रभावित भइरहेका कारण स्थानीयबासी अत्यन्त असन्तुष्ट देखिन्छन्। उनीहरूले प्रदेश सरकारलाई तुरुन्त सुधारको पहल गर्न आग्रह गरेका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...