आज्ञा खबर
बर्दिबास, महोत्तरी
मधेशको आस्था, अनुशासन र पवित्रताको प्रतीक मानिने छठपर्व आजदेखि आरम्भ भएको छ। बर्दिबासदेखि समथर तराईका गाउँहरूसम्म आज बिहानैदेखि नै चहलपहल बढेको छ। बजारहरूमा पूजाका सामग्री किन्ने भीड, देखी घाट सफाइमा व्यस्त महिलाहरू को आँगन आँगनमा गुञ्जिने छठगीतहरूले आजको दिनलाई विशेष बनाइदिएका छन्।
“नहाय–खाय” बाट सुरु भक्तिको यात्रा
छठपर्वको पहिलो दिनलाई “नहाय–खाय” भनिन्छ। आजको दिन व्रतालुहरू बिहान नुहाई–धुलाई गरी घर सफा गर्छन् र शुद्ध खानाको आरम्भ गर्छन्।
बर्दिबास– ६ की ४५ वर्षीया सिता देवी साह भन्छिन्,
“छठमा पहिलो दिन आज आत्मा र शरीर दुबै शुद्ध पारिन्छ। आजको खाना साधारण तर पवित्र हुन्छ—अरवा चामल, लौका, र दाल मात्र आज खाईन्छ ।
छठ पर्वको चहलपहलसंगै आज बर्दिवास नगरका किराना पसलदेखि तरकारी बजारसम्म मा बिहानैदेखि भीड ला गेको देखियो। यहाँ लौका, हरियो धनियाँ, अदुवा, अरवा चामल र घिउको माग एक्कासी बढेको छ। सोही क्रममा स्थानीय व्यापारी राम चन्द्र चौधरी भन्छन्,
“छठ सुरु भयो भने बजारको मुडै बदलिन्छ। बिहानदेखि नै मानिसहरू पूजा सामग्री किन्नकालागि भीड मा बसेका छन्।
घाट र सरसफाइ अभियान
छठ पर्वको तयारीसँगै बर्दिबास १४ स्थित बजारको पोखरी ,हातिलेट पैनी तथा विभिन्न पोखरीहरूमा सरसफाइ अभियान चलेको छ।
बर्दिबासको बिभिन्न छठको घाटहरुमा युवाहरू बिहानैदेखि सफाइमा जुटेका छन्।
“छठ केवल पूजा होइन, यो हाम्रो संस्कार हो। सफा वातावरणमै सूर्य देवको आराधना गर्नुपर्छ,”
भन्छिन् बर्दिबास की एक स्थानिय महिला।
छठ पर्वको अवसरमा बर्दिवास नगरपालिकाले समेत प्रमुख घाटहरूमा धार्मिक यात्रुहरूको सुविधाका लागि सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।
बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले भने,
“छठ हाम्रो सांस्कृतिक र सामाजिक एकताको प्रतीक हो।
महिलाको समर्पण र अनुशासन
छठलाई महिलाको श्रद्धा र अनुशासनको पर्व पनि भनिन्छ। आजदेखि व्रतालु महिलाहरू कठोर नियमपालना गर्दै चार दिनसम्म व्रत बस्छन् । नुन, प्याज, लसुन वर्जित खानेकुरा, शुद्ध जल र आत्मसंयमसहित।
बर्दिबास–९ की व्रतालु कमला महतो भन्छिन्,
“छठ व्रत शरीरभन्दा पनि मनको पवित्रता हो। निन्द्रा, खाना र सबै इच्छामाथि नियन्त्रण गर्नुपर्छ।”
पर्वको शुरुवातसंगै बर्दिबासका सडकहरूमा छठ गीत गुञ्जिरहेका छन्—
“केलवा जे फरेला घवद से तोर…”
यी गीतहरूले केवल वातावरण पवित्र बना एका छैनन आस्थाको बन्धनलाई पनि मजबुत बना एकाछन्।
सामाजिक एकताको पर्व
छठ पर्व धार्मिक मात्र होइन, सामाजिक सद्भावको प्रतीक पनि हो। बर्दिबासमा मिथिला नी, थारू, राजपूत, पहाडी समुदाय सबैले समान श्रद्धाका साथ यो पर्व मनाउँछन्।
आस्थाको उज्यालो तर्फ यात्रा
आजको नहाय–खायपछि भोली “खरना” (दोस्रो दिन) मनाइनेछ, जसमा व्रतालुहरू दिनभर निराहार बसेर रातमा दूध, चामल र गुडको खीर खाँदै पूजा गर्छन्। त्यसपछि अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने मुख्य विधिहरू हुनेछ।
छठको पहिलो दिनसँगै बर्दिबासमा चार दिन लामो पवित्र र अनुशासित यात्राको सुरुवात भएको छ।
नदीकिनारदेखि बजारसम्म, बर्दिबास आज श्रद्धा, सफाइ र समर्पणको उज्यालोमा डुबेको देखिन्छ।





































