धार्मिक आस्थाको धरोहर पञ्चधुरा माईस्थान मन्दिरमा खानेपानीका लागि डिप बोरिङ जडान

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
धार्मिक आस्था र पर्यटन सम्भावनाले ओतप्रोत पञ्चधुरा माईस्थान मन्दिर परिसरलाई अझ व्यवस्थित र सुविधायुक्त बनाउन शनिबारदेखि नयाँ पहल सुरु भएको छ। बर्दिवास नगरपालिका–४ स्थित यस पवित्र धार्मिक स्थलमा खानेपानीका लागि डिप बोरिङ जडान कार्य औपचारिक रूपमा थालनी गरिएको हो।

बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री र नगर पर्यटन, संस्कृति तथा पूर्वाधार विकास समितिका अध्यक्ष हिरालाल गौतमले संयुक्त रूपमा उद्घाटन गर्दै डिप बोरिङ कार्यलाई शुभारम्भ गरेका थिए।
स्थानीयको विश्वास अनुसार पञ्चधुरा माईस्थान मन्दिरमा पूजा–आराधना गर्दा भक्तजनको मनोकामना पूरा हुन्छ। वर्षौंदेखि यस स्थानलाई स्थानीय मात्र नभई वरपरका जिल्लाबाट पनि भक्तजनले विशेष महत्व दिँदै आएका छन्। यहाँ मेला, पर्व र धार्मिक अनुष्ठानका बेला मात्रै नभई बिवाह ब्रतबन्ध र जन्मदिनका अवसरमा समेत हजारौं श्रद्धालुहरूको मन्दिर दर्शनगर्ने क्रममा भीड लाग्ने गर्दछ।

तर, यस्तो आस्थाको केन्द्रमा भक्तजनलाई पानीको सुविधा सहज नहुँदा असुविधा हुँदै आएको थियो। यही आवश्यकता महसुस गरी नगरपालिकाले नगरको बजेटबाट डिप बोरिङ जडानमार्फत खानेपानी निर्माण गर्ने निर्णय गरेको हो।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले भने,
“पञ्चधुरा माईस्थान हाम्रो धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पत्ति हो। यहाँ आउने भक्तजनलाई सहज पानी सुविधा उपलब्ध गराउन यो पहल गरिएको हो। यससँगै मन्दिर क्षेत्रलाई पर्यटकीय आकर्षणको रूपमा विकास गर्ने हाम्रो दीर्घकालीन योजना पनि छ।”
यसैक्रममा नगर पर्यटन, संस्कृति तथा पूर्वाधार विकास समितिका अध्यक्ष हिरालाल गौतमले मन्दिर क्षेत्रमा हुने विकास योजनाबारे जानकारी दिँदै भने,
“यो मन्दिर क्षेत्र केवल धार्मिक स्थल मात्र होइन, यो पर्यटकीय सम्भावनाले भरिएको धरोहर हो। डिप बोरिङले यहाँको आधारभूत आवश्यकता पूरा गर्नेछ भने आगामी दिनमा अन्य पूर्वाधार विकासमार्फत यसलाई अझ व्यवस्थित बनाइनेछ।”
मन्दिर क्षेत्रमा खानेपानी निर्माण हुने खबरले स्थानीयवासी उत्साहित बनेका छन्। उनीहरूका अनुसार पानीको सहज पहुँच भएपछि भक्तजनलाई सुविधा पुग्नेछ र पर्यटन प्रवद्र्धनमा मद्दत हुनेछ। स्थानीय धर्मावलम्बी एक महिलाले भनिन “पञ्चधुरा हाम्रो आस्थाको केन्द्र हो। यहाँ आउने श्रद्धालुलाई खानेपानी उपलब्ध भएपछि उनीहरूको कठिनाइ हट्नेछ। नगरपालिकाले सुरु गरेको यो काम साँच्चै सराहनीय छ।”
डिप बोरिङ जडानले पानी आपूर्ति मात्र होइन, मन्दिर क्षेत्रलाई थप व्यवस्थित बनाउन टेवा पु¥याउने अपेक्षा गरिएको छ। यससँगै पार्क, बत्ती, सरसफाइ पोखरी सौन्दर्यकरण र अन्य पूर्वाधार सुधारका कामहरु हुँदै गएकोले समेत पञ्चधुरा माईस्थान मन्दिर भविष्यमा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सक्ने स्थानियहरूको धारणा छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...