अज्ञज्ञा खबर
सर्लाही
सर्लाहीको मलंगवास्थित एक सरकारी कार्यालयमा चेक भुक्तानीसम्बन्धी विवादका क्रममा भएको भनिएको भनाभनपछि प्रहरीको गाडी तोडफोड गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक राजनीतिक नेताको खोजी गरिरहेको छ।
घटना सोमबार राति करिब साढे ८ बजेतिर पूर्वाधार कार्यालय मलंगवामा भएको हो। चेक भुक्तानी प्रक्रियामा चासो देखाउँदै उपस्थित भएका दुई पक्षबीच भनाभन चर्किँदै गएपछि स्थिति तनावग्रस्त बनेको थियो।
दुवै पक्षबाट आरोप–प्रत्यारोप र गालीगलौजको स्थिति सिर्जना भएपछि सुरक्षाका लागि खटिएको प्रहरी टोली सक्रिय भएको थियो। विवादपछि एक पक्षलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयस्तरमा विरोध जनाइएको थियो। प्रहरीका अनुसार, स्थिति नियन्त्रणमा लिन प्रहरी टोलीले सम्बन्धित व्यक्तिको घरमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाउने प्रयास गर्दा ढुंगामुढा गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले प्रहरीमाथि ढुंगामुढा हुँदा प्रहरीको सरकारी सवारीसाधनमा क्षति पुगेको पुष्टि गरे। “घटनामा संलग्न व्यक्तिको खोजी भैरहेको छ,” उनले भने।
प्राप्त अडियो र विवरणअनुसार, विवादको विषय चेक भुक्तानी प्रक्रिया र त्यसमा भएको अनियमितताको आशंकासँग सम्बन्धित रहेको देखिन्छ। विवादको क्रममा केही व्यक्तिबाट प्रहरी प्रशासनमाथि गम्भीर आरोप लगाइएको अडियोसमेत सार्वजनिक भएको छ।
घटनाका सबै पक्षबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीले हिंसा भड्काउने कार्यमा संलग्नहरुलाई कानुनी दायरामा ल्याइने जनाएको छ।





































