आज्ञा खबर
काठमाडौँ
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदनअनुसार प्रदेश सरकारहरूमध्ये सबैभन्दा धेरै बेरुजु मधेश प्रदेशमा देखिएको छ।
गत आर्थिक वर्षमा प्रदेश सरकारहरूमार्फत खर्च गरिएको रकमको लेखापरीक्षण गर्दा औसतमा १.३६ प्रतिशत बेरुजु भेटिएको छ। तर, मधेश प्रदेशमा यो अनुपात २.५७ प्रतिशत पुगेको छ, जुन सबै प्रदेशहरूमध्ये उच्चतम हो। यसका विपरीत, बागमती प्रदेशमा सबैभन्दा कम—०.८२ प्रतिशत मात्र बेरुजु देखिएको छ।
यस्तै, स्थानीय तहहरूको सन्दर्भमा लेखापरीक्षण गरिएको रकमको तुलनामा औसत २.२६ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ। महालेखा अनुसार ५ प्रतिशतभन्दा कम बेरुजु भएका स्थानीय तहहरूको संख्या ६९२ छ भने ५ देखि १५ प्रतिशत बेरुजु हुने स्थानीय तहहरूको संख्या ६८ रहेको छ।





































