आज्ञा खबर
सिमरा
पाँच दिनअघि प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बाको गोली हानी हत्या भएको पुष्टि भएको छ। जितपुर सिमरा उपमहानगरपालिका–११ आमाडारमा मृत अवस्थामा फेला परेका उनको प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत (निरीक्षक) श्रीकान्त तिवारीलाई निगरानीमा राखेर सोधपुछ गर्दै अनुसन्धान अघि बढाएको हो ।
सिमरा विमानस्थलको प्रहरी युनिटमा कार्यरत प्रहरीको कार्यालय सहगोगी रुम्बा गत शनिबार (पुस ६) गते बिहान वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा आमाडार गाउँको सडक पेटीमा मृत फेला परेका थिए ।
जितपुर सिमरा १७ का रुम्बा वडा नम्बर–१ को सिमरा सुकुम्बासी बस्तीमा बस्दै आएका थिए । शुक्रबार राति ९ः३० बजे उनी कार लिएर निस्केका थिए । उक्त निजी कार सिमरा विमानस्थलमै एक वर्षदेखि कार्यरत राष्ट्रिय अनुसन्धानका अधिकृत तिवारीको हो । त्यसैले पहिलो चरणको अनुसन्धान प्रहरीले तिवारीबाटै सुरु गरेको हो । रुम्बा भान्छेको काम गर्दै थिए । उनका दुई श्रीमती र ३ सन्तान छन् । उनी सुकुम्बासीका अगुवा पनि थिए ।
‘कार्यालय सहयोगी रुम्बा र अनुसन्धान अधिकृत तिवारीबीच हिमचिम थियो,’ सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले भने, ‘त्यसैले तिवारीबाटै अनुसन्धान सुरु गरिएको हो । सोधपुछका क्रममा तिवारीले आफूसित कारको साँचो लिएर रुम्बाले कलैया जान्छु भन्दै गएको बताएका छन् ।’





































