महोत्तरीमा बोक्सी आरोपमा यातनाबाट विस्थापित काजलले पतिसहित तीनजनाविरुद्ध दिइन् जाहेरी

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी

बोक्सी आरोपमा कुटपिट यातना सहित घर बाट निकाला गरिएकी महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलदेवी (दास)ले श्रीमान् विनोद दासहित तीनजनाविरुद्ध प्रहरीमा शुक्रबार किटानी जाहेरी दर्ता गराएकी छन् ।
सौता (विनोदकी अर्की श्रीमती) शिलादेवी दास र धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– ४ फेछाहाका भगता (धामी) दिनेश यादवविरुद्ध उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी हुँन । काजलदेवीले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अन्तर्गत लिखित जाहेरी दिएकी हुन् ।

विनोदले आफ्नी अर्की श्रीमती शिलाको सहयोगमा आफूलाई बोक्सी आरोपमा कुटपिट गरेको तथा मानसिक यातना दिएको काजलको उजुरीमा उल्लेख छ । त्यस्तै, धामी यादवले ‘बोक्सी, भूतप्रेत हटाउने’ भन्दै १० दिन रातिराति मसानघाटमा बसाएको, परेवा र कुभिन्डोको बलि दिन लगाएर बोक्सी ठीक गरेर कसुर गरेको भनिएको छ ।

बोक्सी आरोपमा कुटपिट तथा यातना दिएपछि काजल १ साउनमा जिल्ला प्रहरीमा पुगेकी थिइन् । त्यतिखेर प्रहरीले कुटपिटको मात्र उजुरी लिएर तीन दिनपछि छलफलका लागि बोलाएको थियो । तर, ४ साउनमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र हुँदा बाहिर भने सम्बन्धविच्छेदसहित पिपरा गाउँबाट काजललाई निकाला गरिएको तमसुक बनाइएको थियो, जुन तमसुकमा काजलको पनि ल्याप्चे छ ।

काजलले शुक्रबार दिएको जाहेरीमा उल्लेख भएअनुसार छलफलका क्रममा विनोदले दुईवटा कागजमा सहीछाप गर, अब आइन्दा तँजस्ता बोक्सीलाई राख्दिनँ, समाजबाट नै बहिष्कार गर्छु भनेर जबर्जस्ती सहीछाप गराएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले पीडितले दिएको बोक्सीको आरोपमा जाहेरी दर्ता भएको र अनुसन्धान अगाडि बढेको बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...