चौथो बर्दिवास महोत्सवको तयारी अन्तिम चरणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
बर्दिवासमा शुक्रबार (चैत ३ गते)देखि १३ गतेसम्म लाग्ने चौथो बर्दिवास महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

बर्दिवास उद्योग वाणिज्य संघले महोत्सव आयोजनाको तयारी अन्तिम चरणमा पुगेकोे जनाएको हो ।
विभिन्न जातजाती, पेशाकर्मी, व्यापारी, व्यवसायी, रङ्गकर्मी लगायतको सहभागिता रहनेगरी महोत्सव गर्न लागेको बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु बहादुर खड्काले जानकारी दिए ।
भौगोलिक, सांस्कृतिक एवम् वातावरणीय विविधता रहेको महोत्तरीमा कृषि, उद्योग, पर्यटन तथा ऐतिहासिक परम्परा र संस्कृतिलाई जिवित बनाई विकाश र समृद्धिमा योगदान पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको समेत उनले बताए।

महोत्तरीका धार्मिक सांस्कृतिक परम्परा र सम्पदाको संरक्षण, आन्तरिक पर्यटनको संवर्द्धन तथा व्यापार व्यवसायको प्रवर्द्धनमा यो महोत्सवले भुमिका खेल्ने अपेक्षा छ ।
महोत्सवको चौथौं संस्करणमा स्थानीय उत्पादन र पर्यटकीय गन्तव्यबारे सूचनामूलक प्रस्तुति, जातीय रहनसहन, खानपान र भेषभूषाको प्रर्दशन गरिने छ।
मधेश प्रदेश होटल एवम् पर्यटन व्यवसायी महासंघले महोत्सवप्रति गहिरो अभिरुचि देखाएको छ ।
महासंघका मधेश प्रदेश अध्यक्ष हिरालाल गौतमले महोत्सव र पर्यटन बीच अन्योन्याश्रित सम्बन्ध रहेको जनाउँदै स्टल व्यवस्थापनका लागि प्रदेशका आठ वटै जिल्लामा समन्वय गर्ने बताए।
गौतमले यसको सफलताका लागि दल, समाज, व्यापारी, पेसाकर्मी सबैलाई समेटर लानुपर्ने धारणा व्यक्त गरे।

महोत्सव स्थलमा व्यापारिक प्रयोजनका १७० स्टल राखिने व्यवस्था मिलाइएको छ । तीमध्ये स्थानीय उत्पादन र सीपमूलक प्रदर्शनका लागि स्टल वितरणलाई प्राथमिकतामा राखि छुटको ब्यवस्था मिलाईएको छ। यसका साथै मौलिक उत्पादनको प्रतियोगितात्मक प्रदर्शनीको व्यवस्था पनि छ ।

कृषि उपज, संघ संस्थालाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।
महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने आयोजकको अनुमान छ। अवलोकनकर्तालाई मनोरञ्जन दिन सांस्कृतिक कार्यक्रम, दोहोरी गीत, अन्तर विद्यालय नृत्य प्रतियोगिता, बाल उद्यान जस्ता मनोरञ्जनको विविध व्यवस्था मिलाईएको छ।
आयोजक संस्थाले महोत्सवमा पहिलोपटक बीमाको व्यवस्था गरेको छ । उद्योग, पर्यटन, कृषि एवम् क्रेता विक्रेताबीच अन्तरक्रिया को व्यवस्था गरिएको छ ।
अवलोकनका लागि प्रतिव्यक्ति टिकट शुल्क ६० रुपियाँ तोकिएको छ । महोत्सव शिक्षामूलक र विज्ञान प्रेरित भएकोले विद्यार्थीलाई भने ४० प्रतिशत छुट दिने तथा जेष्ठ नागरिक र अपाङ्घलाई नि,शुल्क अबलोकनको ब्यवस्था मिलाईएको छ।
दश दिनसम्म चल्ने महोत्सवमा तीन करोडभन्दा बढीको कारोवार, ६० लाख आम्दानी र ५५ लाख खर्च हुँने अनुमान गरीएको छ।
महोत्सवमा आम्दानी भएको रकमबाट व्यापारिक हकहितका लागि खर्च गरिने बताइएको छ।
महोत्सवलाई परिष्कृत, व्यवस्थित, सफल र उदाहरणीय बनाउन आयोजक संस्थाले सबैसँग आग्रह गरेको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...