जनकपुरधाम उपमहानगरको नगरसभामा ४३ लाखभन्दा बढी खर्च

[sharethis-inline-buttons]

जनकपुरधाम-

असार १० गतेभित्र स्थानीय तहहरूमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार अधिकांश स्थानीय तहले बजेट ल्याउने गरेका छन्।

प्रावधान अनुसार जनकपुरधाम उपमहानगरपालिकाले समेत आर्थिक वर्ष २०७७/७८ का लागि नगरसभाको आयोजना गरेकाे थियाे। तर सो नगरसभामा उपमहानगरपालिकाले ४३ लाखभन्दा बढी रकम खर्चेको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आव २०७७/७८ को प्रतिवेदन अनुसार उपमहानगरपालिकाले नगरसभा सञ्चालनमा दुई दिनमा ४३ लाख ८ हजार १२८ रुपैयाँ खर्चेको छ।

उपमहानगरपालिकाले सञ्चालन गरेको नगरसभामा कतिजना उपस्थित थिए त्यो खुल्न सकेको छैन। तर उपमहानगरपालिकाले खाना, खाजामा ठूलो रकम खर्च गरेकाे देखिएको छ।

महालेखा परीक्षकको कार्यालयले नगरसभामा उपस्थितिको संख्या नखुलेकाले पालिकाका कर्मचारी, पदाधिकारी र अन्य आमन्त्रित व्यक्ति गरी ५५० जनालाई आधार मानेपछि उपमहानगरले प्रतिव्यक्ति ७ हजार ८३३ रुपैयाँ खर्च गरेको जनाएकाे छ।

‘नगरसभामा उपस्थित प्रतिव्यक्ति खर्च ७ हजार ८३३ देखिएकाले यसलाई स्वाभाविक मान्ने स्थिति छैन’, महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ।

उपमहानगरपालिकाले नगरसभामा ८०३ केजी मासुमा मात्र ७ लाख १० हजार खर्चेको छ। नगरसभामा उपमहानगरपालिकाले खसीको मासु ६५३ केजी १ हजारका दरले ६ लाख ५३ हजार र कुखुराको मासु १५० केजी ३८० को दरले ५७ हजार तिरेको छ।
तर सो समयमा भने मासुको बजार भाउ उपमहानगरपालिकाले खर्चेको भन्दा कम थियो।

यस्तै, उपमहानगरले दुई दिनको खाना बनाएवापत ज्यालामा १ लाख २५ हजार, नगरसभाको प्रत्यक्ष प्रसारणवापत स्थानीय जानकी टेलिभिजनलाई ९५ हजार, स्टेज सजावट तथा खाना बनाउने आवश्यक भाँडामा ३ लाख ३७ हजार ८७०, केसरिया गम्छा ३६० को १ लाख ४२ हजार ४४०, व्याग र छाता १४०/१४० थानको ५ लाख ७४ हजार ७४१, पाइलट पेन ५८० थानको ७७ हजार ९२१ रुपैयाँ खर्चेको छ।

यसैगरी, चिनी, चियापत्ती, चामल, दाल तथा मसला आदिमा ४ लाख ९६ हजार ४५७, १५५ थान डायरीमा ९८ हजार ४८४, पेश्की रकम ८ लाख ६० हजार, खाजा, कोल्ड ड्रिंक्सलगायत मसला र तरकारी आदिमा ७ लाख ९० हजार २१५ रुपैयाँ खर्चेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

नगरसभामा उपस्थित व्यक्तिहरूको खाना तथा खाजा व्यवस्था गर्न आवश्यक पर्ने सामग्रीको लागत अनुमान तयार गरी दररेट माग गरी प्रतिस्पर्धाका माध्यमबाट होटल तथा क्याटरिङ सेवालाई जिम्मा दिन सकिनेमा कर्मचारीमार्फत खरिद गरी काम गराएकोले यो नियमसम्मत नरहेको महालेखा परीक्षकको कार्यालयले जनाएकाे छ।

पत्रपत्रिका छपाइ र सूचना प्रकाशनमा ७७ लाखभन्दा बढी खर्च

जनकपुरधाम उपमहानगरपालिकाले पत्रपत्रिका छपाइ र सूचना प्रकाशनवापत ७७ लाखभन्दा बढी खर्चेको छ।

उपमहानगरपालिकाले आव २०७७/७८ मा कार्यालयको लागि आवश्यक छपाइकार्य गर्न, पत्रपत्रिका तथा पुस्तक खरिद गर्न तथा कार्यालयबाट प्रकाशित गर्ने ठेक्कापट्टा, बोलपत्र, दरभाउपत्र आदि सम्बन्धी सूचना प्रकाशन गर्न ७७ लाख ८३ हजार २२४ रुपैयाँ खर्चेको हाे।

उपमहानगरपालिकाले एउटै सूचना विभिन्न सञ्चारमाध्यममा प्रकाशनसमेत गरेको पाइएको छ। उपमहानगरपालिकाले आदर्श जनकपुर मिडिया प्रालिमार्फत नागरिक दैनिक र जनकपुर टुडेमा गराएको विज्ञापनवापत २४ लाख ४८ हजार ८४, डेली एक्सप्रेसलाई ७ लाख ९५ हजार ५८७, समाचार दैनिकलाई ३ लाख ७० हजार ६६३, नयाँ पत्रिका दैनिकलाई २ लाख ८९ हजार ५०६, राजधानी दैनिकलाई २ लाख ६८ हजार ९४० र टुडे एक्सप्रेसलाई २ लाख २१ ह्जार ३६८ रुपैयाँ भुक्तानी गरेको छ।

एक आर्थिक वर्षमा एक पटक वा पटकपटक गरी एउटै फर्मबाट पाँच लाखभन्दा बढी रकमको खरिद गर्न नमिल्ने व्यवस्था रहे पनि उपमहानगरपालिकाले आदर्श जनकपुर मिडिया प्रालि र डेली एक्सप्रेस प्रालिलाई ५ लाखभन्दा बढीको भुक्तानी दिएको छ।

यस्तै, आदर्श जनकपुर मिडिया प्रालिले एउटै सूचना नागरिक दैनिक र जनकपुर टुडेमा प्रकाशित गरेर भुक्तानी लिएको छ। महालेखा परीक्षकको कार्यालयले दोहोरो भुक्तानी भएको १ लाख २१ ह्जार २३ रुपैयाँ आदर्श मिडियाबाट असुल गर्नुपर्ने उल्लेख गरेकाे छ। देश सञ्चारबाट

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...