आज्ञा सम्वाददाता
महोत्तरी
हाल नेपालको पूर्वी क्षेत्रमा मनसुनी वायुको सामान्य प्रभाव परेको छ ।
मध्य तथा पश्चिमी क्षेत्रमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव परेको छ ।
आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविदहरुको भनाई छ् । पछिल्लो समयमा प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा लगातारजसो पानी परिरहेको छ ।
मौसमविद्का अनुसार लगातारजसो पानी परेकाले पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको छ । यसअघि परेको पानीले जमिन गलिसकेको र जमिनले सोस्नु पर्ने जति पानी सोसिसकेकाले अबको वर्षाले बाढी पहिरोको जोखिम बढाउने देखिएको छ।
भिरालो जमिन र नदी, खोला आसपासमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ । नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने भनिए पनि गएको ५ तारिखमा नै भित्रिएको छ । अहिले प्रदेश–१ मा मनसुनी गतिविधि सक्रिय छ । अन्य प्रदेशमा भने मनसुन सक्रिय भइसकेको छैन ।





































