ह्युस्टन, अमेरिका
आइपिएल च्याम्पियन खेलाडी विपुल शर्मा नायक बन्दा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको बाबजुद नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अल स्टार्सको जितमा आइपिएल अनुभवी विपुल शर्माले ५१ बलमा ४ चौका र २ छक्कासहित महत्वपूर्ण ५० रनको योगदान दिए । विपुल २०१६ मा सनराइजर्स हैदराबादले आइपिएल जित्दाका खेलाडी हुन् । गौरभ बजाज ५८ बलमा २ चौकासहित ४० रनमा अविजित रहे ।
एक समय १९ ओभरमा ९६–५ को कमजोर अवस्थामा पुगेको अल स्टार्सलाई जिताउन छैटौं विकेटका लागि विपुल र गौरभले ८३ रनको निर्णायक साझेदारी गरेका थिए । विपुललाई किशोर महतोले ३३ औं ओभरको पाँचौं बलमा कुशल भुर्तेलबाट क्याच गराउँदै साझेदारी तोडेपनि खेल हातबाट निस्कि सकेको थियो ।
नेपाली अल स्टार्सका स्पिनर मार्टिन कैनले ६ ओभरमा १ मेडनसहित ३६ रन खर्चेर ३ विकेट लिए । मोहम्मद इलायसले ८ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । आदिल भाटीले ७ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । विपुल शर्मा र हरम्रित सिंहले १–१ विकेट लिए । वसन्त रेग्मीले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चे ।
नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र ओमानसँग खेल्नुअघि दुई अभ्यास खेल खेलेको हो । नेपालले दोस्रो अभ्यास खेल शनिबार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । खेल अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियमा हुनेछ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।
अमेरिकामा नेपालको खेल तालिका –
जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान
जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल
जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान
असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल
(हाम्रो खेलकुद) –





































