पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान विस्तारको तयारी

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य रूपमा बढेपछि मानव–बाघ सहअस्तित्व कायम गर्ने उद्देश्यले ‘बाघ मित्र’ अभियानलाई समुदायस्तरसम्म विस्तार गर्ने तयारी गरिएको छ।

निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाका अनुसार पछिल्लो बाघ गणनाबाट पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ७१ पुगेको छ। यसअघि निकुञ्ज क्षेत्रमा ४१ वटा बाघ रहेकोमा पछिल्लो गणनामा ३० वटा थपिएको हो।

बाघको संख्या बढेसँगै मानव र वन्यजन्तुबीचको सम्भावित द्वन्द्व न्यूनीकरण गर्न स्थानीय समुदायलाई वन्यजन्तुको महत्व, बाघबाट सुरक्षित रहने उपाय तथा वन्यजन्तुबाट हुने क्षतिमा राहत प्राप्त गर्ने प्रक्रियाबारे जानकारी गराउने अभियान सञ्चालन गरिने खतिवडाले बताए।

उनका अनुसार पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयसँगको समन्वयमा अभियानलाई समुदायस्तरसम्म पुर्‍याइनेछ। अभियानमा स्थानीय समुदायको सहभागितामा जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा छलफल सञ्चालन भइरहेका छन्।

खतिवडाले बाघ आहाराको खोजीमा कहिलेकाहीँ जंगलबाट बाहिर निस्कँदा स्थानीयमा डर र नकारात्मक धारणा उत्पन्न हुने गरेको बताए। त्यसैले बाघप्रति सकारात्मक धारणा विकास गर्नुका साथै बाघसँग जम्काभेट हुँदा अपनाउनुपर्ने सावधानीबारे समुदायलाई सचेत गराउन अभियान केन्द्रित हुने उनको भनाइ छ।

जंगलमा आगलागी गराउने, वन्यजन्तुको चोरी–तस्करी गर्ने तथा अन्य मानवीय गतिविधिका कारण वन्यजन्तु आफ्नो प्राकृतिक बासस्थानबाट बाहिरिनुपर्ने अवस्था सिर्जना हुने गरेको निकुञ्जले जनाएको छ। यस्ता गतिविधि नियन्त्रण गर्दै वन्यजन्तुको संरक्षण र स्थानीय समुदायको सुरक्षालाई सँगसँगै अघि बढाउन ‘बाघ मित्र’ अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...