आज्ञा खबर
रौतहट
रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।
मंगलबार दिउँसो नदीमा नुहाउन गएका स्थानीय १० वर्षीय मोहम्मद रहमतुल्लाह र सोही उमेरकी सवनम खातुनको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका–२ जिङ्गडवास्थित लालबकैया नदीको किनारमा करिब २०० मिटरको दूरीमा दुवै बालबालिकाको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ।
शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। नदीमा बेपत्ता भएका अर्का बालकको भने खोजी कार्य जारी रहेको छ।
