आज्ञा खबर
काठमाडौँ
प्रतिनिधिसभाको मंगलवार बसेको बैठकमा मा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेश केन्द्रित आन्दोलनका क्रममा बल प्रयोगको विषयलाई लिएर सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आन्दोलन नियन्त्रणका नाममा सुरक्षा निकायबाट अत्यधिक बल प्रयोग हुने गरेको आरोप लगाउँदै त्यसप्रति गम्भीर ध्यान दिन सरकारलाई आग्रह गरे। कुनै पनि विरोध प्रदर्शनलाई शान्तिपूर्ण संवादबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उनले घातक हतियारको प्रयोग अन्तिम विकल्प मात्र हुनुपर्ने धारणा व्यक्त गरे।
सांसद सिंहले आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्न, दोषी देखिए कानुनी कारबाही अघि बढाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीति र कार्यविधि प्रभावकारी रूपमा लागू गर्न सरकारसँग माग गरे। साथै, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको सम्मान गर्दै सुरक्षा व्यवस्थापन गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।
