आज्ञा खबर
पर्सा
पर्साकी लक्ष्मी खड्का सिलवालको मृत्यु घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न उनका माइती पक्षले माग गरेका छन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित परिवारले सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुर निवासी ३७ वर्षीया लक्ष्मीको मृत्यु स्वाभाविक नभई शंकास्पद रहेको दाबी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेको हो।
ठोरी गाउँपालिका–३ रामनगर माइती भएकी लक्ष्मीको शव साउन ८ गते बिहान आफ्नै घर नजिक रहेको गोठमा फेला परेको थियो। त्यसयता घटनालाई लिएर विभिन्न आशंका व्यक्त हुँदै आएको छ।
मृतकका बुबा खड्कबहादुर खड्काले घटनाको गहिरो अनुसन्धान गरी वास्तविक दोषी पहिचान गर्न र कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेका छन्। यस सम्बन्धमा परिवारले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्सामा समेत ज्ञापनपत्र बुझाएको जनाएको छ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सत्य तथ्य पत्ता लगाउन सम्बन्धित निकायले निष्पक्ष र प्रभावकारी अनुसन्धान अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।
