धनुषामा जारी निषेधाज्ञा हट्यो, जनजीवन सामान्य बन्दै

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका लगायत क्षेत्रमा लागू गरिएको निषेधाज्ञा सोमबार बिहानदेखि पूर्ण रूपमा हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको हो। स्थानीय प्रशासनले गत साउन १६ गते शनिबार बिहान १० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) अनुसार निषेधाज्ञा लागू गरेको थियो।

प्रशासनका अनुसार आन्दोलनरत पक्षले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख बनेको र जनजीवन पनि क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ। सुरक्षा अवस्थाको समग्र समीक्षा तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रशासनले जनाएको छ।

निषेधाज्ञा हटाइएसँगै प्रशासनले जिल्लावासीलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै आफ्ना दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। साथै जनकपुरधाम क्षेत्रमा यातायात, व्यापार–व्यवसाय तथा अन्य सार्वजनिक गतिविधि अब सहज रूपमा सञ्चालन हुने अपेक्षा गरिएको प्रशासनले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...