हुलाकी राजमार्गको मधेश खण्डमा निर्माण तीव्र, २४ पुल सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम

मधेश प्रदेश हुँदै जाने हुलाकी राजमार्गको सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ। यस खण्डमा हालसम्म २४ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने अधिकांश सडक कालोपत्रे भइसकेको छ।

हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिरहादेखि सर्लाहीसम्मको कुल ४०६ दशमलव ४३ किलोमिटर सडकमध्ये ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्रे गरिएको छ, जुन कुल लम्बाइको ९० प्रतिशतभन्दा बढी हो।

निर्देशनालयले जनाएको अनुसार धनुषामा तीन, महोत्तरीमा तीन, सिरहामा तीन तथा सर्लाहीमा सात गरी १९ वटा पुल निर्माणको अन्तिम चरणमा छन्। बाँकी ५८ दशमलव ८ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने भए पनि त्यसअन्तर्गत १२ दशमलव ८ किलोमिटर सडकको ठेक्का प्रक्रिया सुरु भइसकेको छ।

कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार चालु आर्थिक वर्षभित्र यस खण्डको निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम तीव्र गतिमा अघि बढाइएको छ।

जिल्लागत रूपमा हेर्दा सिरहामा २९ दशमलव ९८ किलोमिटर, महोत्तरीमा ९१ दशमलव ५६ किलोमिटर तथा सर्लाहीमा १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको निर्देशनालयले जनाएको छ।

पूर्व–पश्चिम जोड्ने राष्ट्रिय महत्वको हुलाकी राजमार्ग सम्पूर्ण रूपमा सम्पन्न भएपछि यसको कुल लम्बाइ एक हजार ७९२ किलोमिटर पुग्नेछ। यस सडकले तराईका जिल्लाबीचको यातायात सहज बनाउनुका साथै आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिलाई थप गति दिने अपेक्षा गरिएको छ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...