सुभद्रा भुजेल
बर्दिबास
महोत्तरीको बर्दिबास नगरपालिका–३ काँरेभोगटेस्थित बि.पी. राजमार्गमा आइतबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आइतबार अपराह्न करिब ११ बजे बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प १९०९ नम्बरको मोटरसाइकलले सडक काट्दै गरेको निलगाईलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक धनुषाको जनकपुर उपमहानगरपालिका–१ निवासी अन्दाजी ३२ वर्षीय बिनय कुमार साह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार धनुषाको हंसपुर नगरपालिका–३ निवासी अन्दाजी ४० वर्षीय रबिन्द्र साह घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
दुर्घटनामा ठक्कर लागेको निलगाई घटनास्थलमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको छ।
